सर्लाही, ०६ भदाै । विश्वकै एक मात्र शालिग्राम पाइने धार्मिक काली गण्डकी नदी स्याङ्जाको गल्याङ नगरपालिका १ मालुङ्गगा उत्तर बाहिनी क्षेत्रमा निर्माणाधीन मिनी मुक्तिनाथ धाम निमार्णले गति लिएसँगै धार्मिक पर्यटनको महत्त्व बढ्ने देखिन्छ ।
दामोदर कुण्ड र मुक्तिनाथ हिमालको काखबाट आएको नदी करिब ३ किलोमिटर उत्तराभिमुख सो उत्तर बाहिनी क्षेत्र निकै प्रसिद्ध धार्मिक तीर्थाटनको रूपमा विकसित हुँदै गएको हो ।
जहाँ काल गण्डकी नदी करिब ३ किलोमिटर उत्तराभिमुख भएर बगेको छ । उत्तरमा रहेको हिमालको काख वाट मुक्तिनाथ कागबेनी हुँदै आएको पवित्र नदी जहाँ विश्वकै एक मात्र शालिग्राम शिला पाइने नदी भएकाले यो ठाउँमा धाम बन्दा यस क्षेत्रका स्थानीय दङ्ग भएका छन् ।
धार्मिक आस्था रहेको उत्तर बाहिनी क्षेत्रमा चन्दा दाताको सहयोगमा करिब दुई करोडको लागतमा १ सय ८ धारा, मिनी मुक्तिनाथ धाम,कैलाश पर्वत,आकर्षक गुफा निमार्ण भइरहेको छ । भने प्राकृतिक अस्पताल सञ्चालनमा आइसकेको छ ।
यस ठाउँलाई धार्मिक, आध्यात्मिक तथा पर्यटकीय धाम बनाउनका २०५९ सालदेखि हरेक वर्ष दामोदर मास सञ्चालन हुँदै आएको छ ।
यसबर्ष आगामी असोज २१ गतेदेखि कार्त्तिक १९ सम्म एक महिनासम्म उत्तर गण्डकी महामेला एवम् दामोदर धर्माेत्सव २०८२ लाई सफल पार्न धाम निमार्ण धमाधम भएको काल गण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले बताउनुभयो ।
उत्तर बाहिनी आफैमा स्वर्ग बन्दै गएको यो ठाउँलाई धार्मिक तीर्थाटन र पर्यटकको गन्तव्य बनाउन सक्ने हो भने देशकै धार्मिक तीर्थ क्षेत्रको रूपमा पहिचान झल्कने निश्चित छ ।