सर्लाही, ०७ भदाै । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले सरकारले संसद् छलेर आर्थिक विधेयक पास गरेको एक महिनामै करका दर हेरफेर गरेको आरोप लगाउँदै गम्भीर आपत्ति जनाउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद पुनले करका दरमा हेरफेर भएको आरोप लगाउनुभएको हो ।
उहाँका अनुसार सलाई बनाउन आवश्यक काठको भन्सार शुल्क, सुक्खा तथा पेय पदार्थका जुसमा ३५ प्रतिशत अन्तःशुल्क तथा औषधि प्याकेजिङमा प्रयोग हुने बोतलमा लगाइएको अन्तःशुल्कसमेत सरकारले घटाएको छ ।
सांसद पुनले संसद् चलिरहेको र आर्थिक विधेयक भर्खरै मात्र पारित भएको अवस्थामा पहिलो चौमासिकमै सरकारले यसरी करका दर परिवर्तन गरेर आर्थिक अपराध गरेको बताउनुभयो । उहाँले करका दर हेरफेरबारे सरकारले संसद्लाई जानकारी गराउनसमेत माग गर्नुभयो ।
आर्थिक विधेयक पास भएको एक महिनामै करका दर हेरफेर गर्नुले अर्थमन्त्री असक्षम रहेको पुष्टि भएको पुनले टिप्पणी गर्नुभयो ।