सर्लाही, ०७ साउन । मधेश प्रदेश सरकारले यसैवर्ष लगानी सम्मेलन गर्ने भएको छ । त्यसका लागि मधेश सरकारले लगानी तयारी थालेको छ ।
मधेश प्रदेशले गर्न लागेको लगानी सम्मेलनको मुख्य उद्देश्य प्रदेशका धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिक र प्राकृतिक स्रोतको परिचय गराउँदै स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्ने रहेको छ । यसैगरि सहकार्य र साझेदारीमा विकासलाई अघि बढाउने, रोजगारी सिर्जना गर्ने र प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी गन्तव्यको रूपमा स्थापित गर्नका लागि लगानी सम्मेलनको तयारी भइरहेको मुख्यमन्त्रीका आर्थिक सल्लाहकार अशोक वैधले जानकारी दिनुभयो ।
सम्मेलनमार्फत कृषि, उद्योग, पर्यटन, ऊर्जा, पूर्वाधार, स्वास्थ्य र शिक्षा क्षेत्रका लगानी अवसरहरू प्रस्तुत गर्ने प्रदेश सरकारको तयारी छ ।लगानी सम्मेलनपछि प्रदेशमा आन्तरिक तथा बाह्य लगानी आकर्षित भई स्थानीय युवाहरूका लागि रोजगारी सिर्जना हुने, धार्मिक-सांस्कृतिक सम्पदा संरक्षणसँगै पर्यटन प्रवर्द्धन हुने, कृषि तथा उद्योगमा उत्पादकत्व वृद्धि हुने र आर्थिक आत्मनिर्भरता मजबुत हुने अपेक्षा गरिएको छ ।
प्रदेश सरकारका अनुसार लगानी सम्मेलन मधेश प्रदेशको दिगो आर्थिक विकास, सामाजिक समृद्धि र सांस्कृतिक संरक्षणका लागि एक महत्त्वपूर्ण अवसर हुने मधेश सरकारले जनाएको छ ।
यसका लागि प्रदेश सरकार, निजी क्षेत्र, संघीय सरकार र अन्तर्राष्ट्रिय विकास साझेदारबीच सहकार्यमा कार्यक्रमलाई सफल बनाउने तयारी भइरहेको मुख्यमन्त्रीका आर्थिक सल्लाहाकार वैधले जानकारी दिनुभयो ।