सर्लाही, ०८ भदाै । मधेस प्रदेश सरकारले हैजाका बिरामीको उपचारका लागि आवश्यक औषधि र स्वास्थ्य सामग्री वीरगन्जको नारायणी अस्पतालमा पठाएको छ ।
आइतबार मधेस प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. विपनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले नारायणी अस्पतालका मेसु डा. चुमनलाल दासलाई औषधि र सामाग्री हस्तान्तरण गरेका हुन् ।
मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा झाडापखाला र हैजाका बिरामीको उपचारमा आवश्यक पर्ने १७ प्रकारका औषधि र सामग्री स्वास्थ्य कार्यालय पर्सामार्फत नारायणी अस्पताललाई प्रदान गरिएको मन्त्रालयका जनस्वास्थ्य अधिकृत ठाकुरले बताए ।
वीरगन्जमा फैलिएको हैजाको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकार पनि लागेको भन्दै उनले भने,‘बिरामीको उपचारका लागि आवश्यक थप औषधि र सामग्री उपलब्ध गराउन प्रदेश सरकार तयार छ ।’
त्यसअवसरमा स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख विनोद झाले दिनहुँ झाडापखाला र हैजाका बिरामी थपिँदै गएको बताए । महामारी रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य कार्यालय पर्साले स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको उनले बताए ।