सर्लाही, ०९ भदाै । हिन्दु धर्मालम्बी महिलाहरूले आज हरितालिका (तीज) पर्वको दर खाँदैछन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ ।

तीजको दिन ब्रत बस्ने महिलाले अघिल्लो दिन मिठामिठा र आडिला परिकार दरको रुपमा खाने चलन विगतदेखि चलिआएको छ । 

विशेषगरी टाढा रहेका दिदी बहिनीलाई माइती पक्षले तीजमा निम्ता गर्छन्। दिदी बहिनी, परिवारका सदस्य, इष्टमित्र र छिमेकीहरू एकै ठाउँमा भेला भएर विभिन्न मिठा परिकार दरको रुपमा खाँदै रमाइलो गर्ने चलन विगतदेखि चल्दै आएको छ ।

विगतमा तीजको अघिल्लो दिन मात्रै दर खाने चलन रहेपनि आजभोलि शहरी क्षेत्रमा एक डेढ महिनाअघिदेखि नै दर खाने र खुवाउने चलनको विकास हुन थालेको छ । 

जसलाई कतिपयले विकृतिको रुपमा पनि अथ्र्याउने गरेका छन् । दर खाँदा आफ्नो स्वास्थ्यको ख्याल गर्न चिकित्सकले सुझाव दिएका छन् ।

पौराणिक कालमा पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ तीजमा विवाहित महिलाहरू पतिको सुवास्थ्य र दीर्घायूको कामना गर्दै तथा अविवाहिता युवतीहरू सुयोग्य बर पाउने कामना गर्दै तीजको व्रत बसी शिवको पूजा आराधना गर्ने प्रचलन छ । 

पछिल्लो समय भने निराहार व्रत बस्नेको संख्या घट्दै गएको छ । चिकित्सकले पनि आफ्नो स्वास्थ्यको ख्याल गरेर मात्रै व्रत बस्न सुझाव दिने गरेका छन् । 

महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमासमेत तीजलाई उपयोग गर्ने गरेका छन् । 

तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्छन् । जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पीर, मर्कालाई नारीले तीजमा पोख्ने परम्परा छ । 

तर, पछिल्ला वर्ष तीजका नाममा उच्छृङ्खलता र तडक भडक बढ्दै गएको भनेरसमेत कतिपयले आलोचना गर्ने गरेका छन् । 

एक महिनाअघिदेखि दर खाने, गरगहना एवं पोसाक प्रदर्शन गर्नेजस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृत बनाउन खोजेको उनीहरूको तर्क छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *