सर्लाही, ११ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको ३०० क्षमताको अस्पताल भवन निर्माणका लागि सम्झौता हुने भएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा आजदेखि सुरु भएको ‘इलेक्ट्रोनिक मेडिकल रेकर्ड’ प्रणालीको शुभारम्भ गर्दै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले अस्पताललाई ३०० शय्या क्षमतामा विस्तार गरिने र त्यसका लागि भारत सरकारसँग सम्झौता हुने बताए ।

अस्पतालको स्तरोन्नतिका लागि यसअघि नै भारत सरकारले सहमति जनाइसकेकाले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा यस सम्बन्धमा सम्झौता भएर निर्माणको प्रक्रिया सुरु हुने मन्त्री पौडेलले बताए ।

मन्त्रीले भने, “अस्पतालको डिपिआर अनुसार रु ६०० करोडको लागत स्वीकृत भएर भारतको स्वास्थ्य मन्त्रालयमा गइसकेको छ । हामीले सम्पूर्ण प्रक्रिया पूरा गरिसकेका छौँ ।”

उनले अस्पताल स्तरोन्नतिको प्रक्रिया लाग्ने भएकाले त्यस अवधिसम्म जनरल हस्पिटल राम्रोसँग चलाउनुपर्ने बताए ।

अस्पतालको स्तरोन्नति गरी देशकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाउने लक्ष्य राखिएको छ । त्यसका लागि अस्पतालको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । 

मन्त्री पौडेलले जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई जनताको आकर्षणको केन्द्र बनाउन सकिने र यसका लागि तीन तहकै सरकारको यसमा सहयोग आवश्यक रहेको उल्लेख गरे। उनले भने, “सङ्घ सरकार मातहत रहेको यस अस्पताललाई प्रदेश र स्थानीय सरकारको पनि सहयोगको खाँचो छ ।”

मन्त्री पौडेलले अस्पतालमा एमडिजिपी डाक्टर पढाउने व्यवस्था गरिने बताउँदै त्यसका लागि कम्तीमा ७०० बिरामी अस्पताल आउने अवस्था हुनुपर्ने बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *