सर्लाही, ११ भदाै । गुगलले आफ्नो जेमिनाई एपको नेटिभ फोटो एडिटिङ टुलहरूमा नयाँ अपडेट ल्याएको छ । नयाँ अपडेटसँगै गुगल डिपमाइन्डको फोटो एडिटिङ मोडेल सिधै जेमिनाई एपमा एकीकृत गरिएको हो ।
यो अपडेटको सबैभन्दा महत्त्वपूर्ण विशेषता भनेको व्यक्तिगत रूप (likeness) कायम राख्न सक्ने क्षमता हो । जुन एआई फोटो एडिटिङको एक सामान्य र निराशाजनक समस्याको रूपमा रहेको थियो ।
यो नयाँ मोडेल तपाईँका साथीहरू, परिवारका सदस्यहरू र पाल्तु जनावरहरूको तस्बिरलाई एडिटिङका क्रममा स्वरूप नबिगारी उस्तै देखाउन सक्षम छ ।
यसको सहयोगमा धेरै फोटोहरू अपलोड गरी तिनीहरूका निश्चित भागलाई एउटै दृश्यमा मिसाउन सकिन्छ । जस्तै तपाईँ आफ्नो र आफ्नो कुकुरको फोटो प्रयोग गरेर बास्केटबल कोर्टमा सँगै बसेको एउटा नयाँ पोट्रेट सिर्जना गर्न सक्नुहुन्छ ।
यस्तै तपाईँ शब्दहरू प्रयोग गरेर फोटोका विशिष्ट भागहरूलाई सजिलै सम्पादन गर्न सक्नुहुन्छ । यसमा फोटो रिःस्टोर गर्ने, ब्याकग्राउन्ड परिवर्तन गर्ने, विषयवस्तु बदल्ने वा नयाँ भागहरू थप्ने जस्ता कार्यहरू समावेश छन् ।
जेमिनाईको यो फिचरको सहयोगमा कुराकानीकै शैलीमा निर्देशन दिएर फोटोहरू एडिट गर्न सकिन्छ । उदाहरणका लागि एउटा खाली कोठाबाट सुरु गरी, भित्ता रङ्गाउन, त्यसपछि किताबको दराज र अन्य फर्निचर थप्न निर्देशन दिन सकिन्छ ।
यो फिचरले एक वस्तुको शैली, रङ वा बनावटलाई अर्कोमा लागु गर्ने सुविधा पनि दिन्छ । जस्तै तपाईँ एउटा पुतलीको पखेटाको ढाँचा प्रयोग गरी पोशाक डिजाइन गर्न सक्नुहुन्छ ।
जेमिनाईले इमेजेन ४ (Imagen 4) प्रयोग गरी प्रयोगकर्ताका कल्पनाहरूलाई जीवन्त विवरण र यथार्थले भरिएका अनौठा दृश्यहरूमा रूपान्तरण गरिदिन सक्छ । तपाईँ आफूलाई विभिन्न ठाउँहरू, पोसाकहरू, हेयर स्टाइल वा फरक दशकमा पनि परिवर्तन गर्न सक्नुहुन्छ ।
जेमिनाईको सहयोगमा सिर्जना गरिएका वा सम्पादन गरिएका सबै फोटोहरूमा अदृश्य सिन्थआईडी वाटरमार्क र एउटा देख्न सकिने वाटरमार्क समावेश हुन्छ । जसले फोटोहरू एआईको सहयोगमा तयार पारिएको भन्ने कुरा देखाउँछ ।
जेमिनाईको फोटो एडिटिङ सुविधा जेमिनाई एप उपलब्ध भएका सबै भाषा र देशहरूमा उपलब्ध गराइएको छ । क्रमिक रूपमा रोलआउट भइरहेकाले तपाईँले केही समय पर्खिनु पर्ने चाहिँ हुन सक्छ ।
यद्यपि आगामी हप्ताहरूमा सबै योग्य प्रयोगकर्ताहरूका लागि यो सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ । यो फिचर एन्ड्रोइड र आईओएस डिभाइसमा रहेको जेमिनाई एप र डेस्कटपमा प्रयोग गर्न सकिनेछ ।
