काठमाडौं, १३ भदाै । । रूसले बिहीबार युक्रेनमाथि ५९८ वटा ड्रोन र ३१ वटा क्षेप्यास्त्रले आक्रमण गरेको छ ।

बीबीसीका अनुसार, यस आक्रमणमा ४ बालबालिकासहित २१ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् । आक्रमण अमेरिकी राष्ट्रपति ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको अलास्कामा भएको भेटवार्ताको मात्र १३ दिनपछि भएको हो ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसबारे प्रतिक्रिया दिंदै भनेका छन्, ‘रूसले शान्ति होइन, मिसाइल रोजेको छ ।’

रूसी मिसाइलका छर्राबाट ब्रिटिश काउन्सिलको कार्यालय क्षतिग्रस्त भएको छ । रूसी आक्रमणमा ब्रिटिश सरकारको सम्पत्तिमा क्षति भएको यो पहिलोपटक हो ।

आक्रमणबाट युरोपेली संघ मिसनका भवनहरूमा समेत क्षति पुगेको छ। बेलायत र युरोपेली संघले रूसलाई कडा चेतावनी दिएका छन् भने ह्वाइट हाउसले भने वार्ता जारी रहने बताएको छ।

आक्रमणपछि कीभस्थित कार्यालयहरूमा क्षति पुगेको भन्दै बेलायत र युरोपेली संघले रूसी राजदूतहरूसँग स्पष्टीकरण सोधेका छन् ।

युक्रेनमा आक्रमण बढ्दा भारतलाई धम्की

यसैबीच अमेरिकी सांसद लिन्डसे ग्राहामले युक्रेनमा रूसी आक्रमणपछि भारतविरुद्ध आवाज उठाएका छन् । उनले रूसी आक्रमणको प्रसंग उठाउँदै प्रश्न गरे, ‘भारतलाई अब कस्तो लागेको होला?’

लिन्डसे ग्राहामले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा लेखेका छन्, ‘भारत, चीन, ब्राजिल र अरू देशहरूले रसियाबाट सस्तो तेल किनेर पुटिनको युद्ध मेसिनलाई शक्ति दिइरहेका छन्: अब कस्तो अनुभव भइरहेको छ ?’

उनले थपेका छन्, ‘तपाईंहरूको खरिदका कारण निर्दोष मानिसहरूको ज्यान गइरहेको छ । तीमध्ये बच्चाहरू पनि छन् ।’

लिन्डसेले एउटा भिडियो पनि शेयर गरेका छन् जसमा युक्रेनमा रसियाको आक्रमणमा बालबालिकासहित कम्तीमा १५ जनाको मृत्यु भएको देखाइएको छ ।

उनले भनेका छन्, ‘भारतले पुटिनलाई समर्थन गर्ने मूल्य तिरेको छ। बाँकी देशहरूको पालो पनि छिट्टै आउनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *