सर्लाही, १४ भदाै । खेत जोत्छन्, मल छर्छन् । उखु रोप्छन्, वर्ष दिन पाखुरा बजारेर गोड्छन्, किसानले । अनि मात्रै उब्जन्छ गुलियो रस भएको उखुको लाँक्रा । उद्योगीले उधारोमा उखु किन्छन् । त्यही उधारो बिलबाटै सुरु हुन्छ, उखु किसानहरूको पेलानको कथा । यसैका प्रतिनिधि पात्र हुन्, बाराका उखु किसान विजयप्रसाद साह भन्छन्, ‘ऋणमै उखु उब्जाउँछौं । सरकार र उद्योगीले तोकेको मूल्य पनि समयमा दिँदैनन् । लगानी नै उठ्न पनि गाह्रो छ ।’ उखुको रकम उठाउन किसानलाई धौधौ पर्ने गरेको उनको भनाइ छ ।  

सरकारले दिँदै आएको प्रतिक्विन्टल ७० बाट घटाएर ३५ रुपैयाँमात्रै दिने निर्णयले किसानहरू काठमाडौंको माइतीघर मण्डलासम्म आन्दोलनमा आए । आन्दोलन निष्कर्षमा नै नपुगी अब जिल्ला फर्किने तयारीमा छन् । उनीहरू आन्दोलन नरोकिने अझै अघि बढ्ने बताउँछन् । 

उखुको मूल्य तोक्न माग 
किसानहरूले खेतमा तयारी हुन लागेको नयाँ उखुको भाउ तोक्न सरकारसँग माग गरेका छन् । केन्द्रीय उखु किसान संघर्ष समितिका सहसंयोजक राजकुमार उप्रेतीका अनुसार उखु क्रसिङ सिजन आव २०८२÷८३ का लागि उद्योगी तर्फबाट प्रतिक्विन्टल एक हजार रुपैयाँ सुपथ मूल्य दिनुपर्छ । त्यसैगरी सरकारले सुपथ मूल्यबाहेक प्रतिक्विन्टल एक सय रुपैयाँ थप अनुदान दिनुपर्छ । अनि मात्रै किसानले लागत आधारमा उखुको मूल्य प्राप्त गर्नेछन् । 

उखु उत्पादक किसान संघ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले सरकार, उद्योग र किसानको संयुक्त बैठकले उखुको मूल्य तय गर्नुपर्ने बताए । सरकार र उद्योगीले एकतर्फी मूल्य तोक्दा किसान मारमा पर्दै आएको उनको भनाइ छ ।

यसपाली खेतमा तयारी हुन लागेको उखुको मूल्य तत्काल तोक्नुपर्ने माग राखेका छन्, केन्द्रीय उखु संघर्ष समितिका संयोजक श्यामबाबु रायले ।
उनले भने, ‘उखु खेतमा पाकेपछि बल्ल भाउ तोक्ने सुरसार हुन्छ । उखु सुकेर दाउरा बन्दा किसानलाई घाटैघाटा हुन्छ ।’ 

साढे ७५ लाख अनुदान रकम निकासा 
सरकारले कटौतीपछि कायम गरेको प्रतिक्विन्टल ३५ रुपैयाँका दरले अर्थ मन्त्रालयले अनुदान रकम  निकासा गरिसकेको छ । अर्थ मन्त्रालयले ७५ करोड ४९ लाख ३८ हजार रुपैयाँ निकासा गरेको हो । निकासा गरिएको रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानको बैंक खातामार्फत भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा देशका १३ वटा चिनी मिलमा किसानहरूले २ करोड १५ लाख ७२ हजार १ सय ४८ क्विन्टल उखु खरिद गरेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *