सर्लाही, १६ भदाै । सर्लाही जिल्लामा बलराको साटो गोडैतामा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गर्दै गृहमन्त्री रमेश लेखकलाई सर्वपक्षीय ज्ञापनपत्र बुझाइएको छ ।

गृहमन्त्री लेखक वीरगञ्ज आएको अवसर पारेर स्थानीय जनप्रतिनिधिहरू तथा सरोकारवालाहरूको टोलीले गोडैता क्षेत्रको भौगोलिक र सुरक्षाजन्य उपयुक्तता औँल्याउँदै इलाका प्रशासन कार्यालय त्यहीँ राख्न आग्रह गरेका हुन् ।

गृहमन्त्री लेखक आज वीरगन्ज आएको अवसरमा बलरा भन्दा पनि गोडैतामा अति पायक पर्ने भएकाले गोडैतामै कार्यालय स्थापना गर्न माग गर्दै सर्वपक्षिय ध्यानाकर्षण पत्र बुझाइएको हो । मन्त्रिपरिषद्को भदौ ९ गते बसेको बैठकले गोडैता नगरपालिका, विष्णु गाउँपालिका, बलरा नगरपालिका, रामनगर गाउँपालिका र धनकौल गाउँपालिकाका लागि बलरामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेकोमा सो निर्णय पाँचवटै पालिकाको जनताको सेवा सुविधा र सुरक्षाको हिसाबले अनुपयुक्ति रहेको सर्वपक्षिय ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

भारतको बोर्डर छेउमा रहेकाले सुरक्षाको हिसाबले पनि संवेदनशील रहेकाले पाँचवटै पालिकाको बिच भागमा पर्ने गोडैता नगरपालिका ७ मा इलाका प्रशासन कार्यालय स्थापना गरिदिन गृहमन्त्रीसँग माग गरिएको छ । सर्वपक्षीय ध्यानाकर्षण पत्रमा सर्लाही क्षेत्र नं. ४ (क) का प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंह, क्षेत्र नं. ४ (ख) का प्रदेशसभा सदस्य फकिरा महतो, गोडैता नगरपालिकाका कार्यवाहक नगरउप्रमुख एवं उपप्रमुख अन्जना कुशवाहा, विष्णु गाउँपालिकाका अध्यक्ष जवाहारलाल राय र धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहले हस्ताक्षर गरेका छन् ।

जिल्लाको दक्षिण–पश्चिम भेगमा पर्ने यस क्षेत्रका स्थानीय अहिले प्रशासनिक सेवा लिन सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालयमा आउन बाध्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *