सर्लाही, ०३ असाेज । गत भदौ २४ गतेदेखि नेपाली सेनाको सुरक्षा घेरामा शिवपुरीमा बसिरहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बिहीबार भक्तपुरको गुण्डु सरे । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतको समन्वय र व्यवस्थापनमा गुण्डु सरेका ओलीका लागि तीनवटा घर भाडामा लिइएको छ ।
ओली भक्तपुर सर्नुअघि एमालेका नेताहरू बिहीबार उक्त घर निरीक्षण गर्न गुण्डु पुगेका थिए । एमाले पोलिटब्यूरो सदस्य बस्नेतले ओलीलाई भव्य समारोहबीच सार्वजनिक गर्ने बताएका छन् ।
ब्यारेकबाट बाहिरिए पनि ओली सार्वजनिक भइसकेका छैनन् ।
भदौ २४ गते दिउँसो नेपाली सेनाको हेलिकप्टर चढेर सेनाको ब्यारेकमा जानुअघि भने प्रधानमन्त्री ओली बिहानैदेखि पार्टी नेताहरू र चारवटै सुरक्षा संयन्त्रका प्रतिनिधिहरूसँग प्रधानमन्त्री निवास बालुवाटारमा पालैपालो संवादमा थिए ।
२३ गते भएको जेनजी आन्दोलनमा सुरक्षाकर्मीको गोली लागेर १९ जना प्रदर्शनकारीको निधन भइसकेको थियो । उक्त घटनाको नैतिक जिम्मेवारी लिँदै गृहमन्त्री रमेश लेखकले त्यसैदिन साँझ राजीनामा दिइसकेका थिए ।
२३ गते साँझ मन्त्रिपरिषद् बैठक बस्नुअघि र बैठक सकिएपछि पनि बसेको सुरक्षा समितको बैठकमा प्रधानसेनापति अशोकराज सिग्देलले मुलुकको परिस्थिति संकटउन्मुख रहेको भन्दै प्रधानमन्त्रीबाटै राजनीतिक निकास हुनुपर्ने बताएका थिए, तर ओलीले त्यसलाई अनदेखा गरिदिए ।
बरू राजीनामा दिएका गृहमन्त्री लेखकलाई फिर्ता लिन भने । साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रदर्शनकारीहरूले उठाएका २ मागमध्ये एक- सामाजिक सञ्जाल तत्काल नखुल्ने बताए ।
उनी त्यसदिन कुनै १९ जना प्रदर्शनकारी राज्यकै गोली लागेर मारिएकोमा रत्तिभर संवेदनशील देखिएन् । ओलीले त्यस दिनको मन्त्रिपरिषद् बैठकमा प्रस्तुत गरेको असंवेदनशील र अमानवीय हठबारे उनकै मन्त्रिपरिषद्का सदस्यहरूले काफी सार्वजनिक गरिसकेका छन् ।
उता कांग्रेसमा भने सामाजिक सञ्जाल बन्द अनि त्यसमा उठेका विरोधबारे सरकारी रवैयाबारे कडा समीक्षा हुन थालिसकेको थियो । नेताहरूले एमालेसँगको सत्ता सहकार्यबारे नै पुनर्विचार गर्ने प्रस्ताव राख्न थालिसकेका थिए ।
यस्तो पृष्ठभूमिमा मन्त्रिपरिषद् बैठकलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवासँग ओलीको भेट भयो । देउवाले स्थितिको संवेदनशीलताबारे आफ्ना बुझाइ राख्दै ओलीलाई उदार बन्न आग्रह गरे ।

देउवासँग भेटेपछि बल्ल ओली प्रतिबन्ध लगाइएका सामाजिक सञ्जाल खोल्न तयार भए । ओली तयार त भए तर त्यस बेलासम्म धेरै कुरा ढिलो भइसकेको थियो ।
त्यसपछि सूचना प्रविधि तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङले मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै सामाजिक सञ्जाल खोल्ने निर्णय भएको बताए । सरकारले यस्तो निर्णय सार्वजनिक गर्दासम्म देशका होनाहार युवाहरूको ज्यान गइसकेको थियो, आक्रोशको ज्वाला बलिसकेको थियो ।
जेनजीको आन्दोलनलाई सोसल मिडिया बन्द निर्णयले उत्तेजित बनाएको पक्कै हो तर तिनको माग सामाजिक सञ्जालको प्रतिबन्ध हटाउनुपर्छ भन्नेमात्रै थिएन । उनीहरूले मुलुकमा ब्याप्त भ्रष्टाचारको अन्त्य र सुशासनको सुरूवातका निमित्त आवाज उठाएका थिए ।
त्यसैले राज्यले लगाएको कर्फ्यू तोड्दै युवाहरू आन्दोलनमा उत्रिए, अराजकता मच्चाउन मौका पर्खिरहेका अरूहरूले विध्वंशका लागि उपयुक्त मौका पाए । आक्रोश र आगोका लप्काहरूले २४ गते बिहानैदेखि काठमाडौं दन्किन थालिसकेको थियो, असर देशैभरी परिरहेको थियो ।
२४ गते बिहान प्रधानमन्त्री निवास बालुवाटारमा एमालेका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू प्रदीप ज्ञवाली र विष्णु रिमाल भेला भइसकेका थिए । उक्त छलफलमा पौडेलले ‘यति धेरै धनजनको क्षति भइसक्यो, सुरक्षा निकायको रिपोर्टिङ पनि राम्रो छैन अब छोडिदनुपर्छ होला’ भनेका थिए ।
तर पोखरेल, रिमाल र ज्ञवालीले बिचैमा प्रतिवाद गरे ।
‘प्रधानमन्त्री छोड्ने पक्षमा अध्यक्ष कमरेड विल्कुल हुनुहुन्थेन,’ एमाले स्रोत भन्छ, ‘अरू नेताहरूले पनि छोड्नुहुँदैन भनेपछि विष्णु कमरेड करिब-करिब एक्लो हुनुभएछ ।’
प्रदर्शनकारीहरूले बिहान ९ बजेदेखि नै नेताहरूको घर खोजीखोजी तोडफोड र आगजनी गर्न सुरु गरिसकेका थिए । प्रहरी बिटहरूमा आक्रमण सुरु भइसकेको थियो, प्रदर्शनकारीको भीडलाई एक्लै थेग्न नसक्ने अवस्थामा पुगेका प्रहरीलाई आफ्नै ज्यान जोगाउन हम्मे परेको थियो ।
बिहान १० बजेतिर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरू बालुवाटार पुगे । त्यहाँ चारै सुरक्षा प्रमुखको आवाज एउटै थियो- परिस्थिति नियन्त्रणबाहिर गइसक्यो, प्रधानमन्त्रीज्यूले तुरून्तै राजीनामा दिनुपर्यो ।
तर ओली टसको मस भएनन् । बरू सुरक्षाको जिम्मा लिएर पनि किन सुरक्षा दिन नसकेको भनेर उनीहरूमाथि नै जाइलागे ।