सर्लाही, १४ असाेज । विभिन्न आन्दोलनका उलब्धिहरूलाई संग्रहित गरिएको नयाँ संविधान जारी भएपछिको दोस्रो आवधिक निर्वाचनमा ‘लौरो चुनाव चिह्न’ खुबै चर्चित बन्यो । स्थानीय तह निर्वाचनदेखि चुलिएको लौरो प्रदेश र प्रनिनिधिसभा निर्वाचनमा पनि चर्चामै रह्यो । 

स्थानीय तह निर्वाचनमा चुनाव चिह्न लौरो पाएका बालेन्द्र शाह (बालेन) काठमाडौँ जस्तो देशकै ठूलो महागरको प्रमुखमा चुनिए भने हर्कराज राई (हर्क साम्पाङ) धरान उपमहागरको मेयर बने । लामो राजनीतिक इतिहास र पृष्ठभूमि बोकेका बलिया संगठन भएका प्रमुख दलहरूलाई नै लौरोले यसरी पाखा लगाएपछि यसको लोकप्रियता बढेको हो।

२०७९ मंसिरमा एकसाथ भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पनि लौरोलाई अभियानकै रुपमा अघि बढाइयो। यद्यपि, त्यसबेला भने लौरो कमजोर देखियो। उक्त चुनाव चिह्न लिएर जो-जो चुनावी मैदानमा होमिए, ती सबै पराजित भए। 

तर बागमती प्रदेशतर्फ भने लौरोमा परेको समानुपातिक मत भने खेर गएन। त्यहाँ हाम्रो नेपाली पार्टीका दुई समानुपातिक सांसद छन्। २०७९ वैशाखको स्थानीय तह निर्वाचन र मंसिरको प्रदेश तथा संघ निर्वाचनका बीचमा लौरो दलको चिह्नका रूपमा दर्ता भएको थियो।

२०७९ असार २९ गते अनन्तराज घिमिरेको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएको हाम्रो नेपाली पार्टी (हानेपा)ले लौरोलाई आफ्नो चुनाव चिह्न बनाएको हो। ललितपुरको सानेपा कार्यालय रहेको उक्त पार्टीको चुनाव चिह्नका रूपमा अहिले पनि यो आयोगमा दर्ता छ।

जेन-जी आन्दोलनसँगै अहिले देश मध्यावधि निर्वाचनमा धकेलिएपछि काठमाडौँ महागनगरका प्रमुख बालेन पार्टी निर्माणको आन्तरिक गृहकार्यमा जुटेका छन् तर उनले नयाँ दल घोषणाभन्दा पनि हानेपालाई नै अघि बढाउने सम्भवाना देखिन्छ। किन कि उनकै समर्थनमा उक्त पार्टी दर्ता भएको थियो। 

तत्कालीन समयमा आयोगमा कार्यरत एक कर्मचारीले खुलाए अनुसार बालेनकै समर्थनमा भनेर हाम्रो नेपाली पार्टी दर्ता गरिएको थियो।

‘तीन वर्ष अघिको चुनावमा निर्वाचन आयोगमा केही युवाहरू एउटा नयाँ पार्टी दर्ता गराउन आउनुभयो। नाम- हाम्रो नेपाली पार्टी र  चुनाव चिह्न- लौरो’, उनले त्यसबेलाको संवाद सुनाउँदै भने, ‘यो त बालेनको लौरो होइन? भन्दा उनीहरूले यसमा बालेनको समर्थन छ भनेका थिए।’  

त्यसो त हानेपाका अध्यक्ष अनन्तराज घिमिरे स्वयं पनि बालेनकै समर्थनमा पार्टी दर्ता गरेको स्वीकार्छन्। लौरोलाई संस्थागत गर्न इन्जिनियर तथा अन्य बुद्धिजीवी मिलेर आयोगमा दर्ता गरिएको उनले बताए। 

‘वैशाखमा बालेन काठमाडौँमा र हर्क धरानमा स्वतन्त्र लडेर जित्नुभयो। त्यहीबेला पनि उहाँहरूलाई हामीले सहयोग पनि गर्‍यौँ’, उनले भने, ‘जब उहाँहरू जित्नुभयो तब त्यो लौरो एउटा ब्राण्ड बन्यो। बालेनजीको टिमसँग पनि सल्लाह गरेर लौरोलाई रजिस्ट्रर गर्नुपर्छ है भनेर आयोगमा क्लेम गर्‍यौँ। हामीले संस्थागत गर्नका लागि लौरोलाई पार्टीसँग आबद्ध गरेका हौँ।’ 

हानेपाकै एक नेता अब नेतृत्व बालेनले नै गर्ने बताउँछन् । ‘लिडिङ गर्ने को हो त भन्दा अहिले बालेन जी एउटा लिडरसीपका रूपमा उदाइसक्नुभएको छ। उहाँकै लिडरसीपमा देशलाई साँच्चिकै सुन्दर बाटोमा लानुछ’, ती नेताले भने, ‘आगामी चुनावमा के हो भने बालेनजीले लिडरसीप गर्नुहुन्छ र हामी पछि लाग्छौँ। साथमा रहन्छौँ।’

हानेपामा इन्जिनियरहरूको जमात बढी छ। काठमाडौँका प्रमुख बालेनको पृष्ठभूमि पनि त्यही हो।   

हानेपाका पदाधिकारी र बालेनबीचको निकटता पनि ‘ओपनसेक्रेट’ नै देखिन्छ। हानेपाका अध्यक्ष रहेका घिमिरेले केहीदिन अघि मात्रै बालेन व्यक्ति नभई विचार भएको उल्लेख गरेका छन्। संविधान दिवसमा बालेन मौन रहेको सन्भर्दलाई लिएर सामाजिक संजालमा उनले लेखेका छन्, ‘बालेन नबोल्दा पनि समाचार बन्छ। बालेन व्यक्ति होइन, विचार हो।’ 

हानेपाका प्रवक्ता रोहन कार्कीको त फेसबुक ‘कभर फोटो’ नै बालेनसँगको छ। बालेनलाई ट्याग गरिएको उक्त फोटोको क्याप्सनमा भनिएको छ, ‘जो एक विचार हो। जो कहिल्यै थाकेन, जो निरन्तर आफ्नो अडानबाट विचलित भएन। जनताको आशा भरोसा तथा हामी सबैका प्रिय नेता।’ 

हानेपा प्रवक्ता कार्कीले बालेनको समर्थन गर्दै अन्य विभिन्न पोस्टहरू पनि सामाजिक संजालमा साझा गर्ने गरेका छन्।  

बालेन सचिवालयको घुमाउराे स्वीकारोक्ति

बालेनको सचिवालयले पनि हानेपासँगको सम्बन्धलाई घुमाउराे ढंगले स्वीकारेको छ। उनका स्वकीय सचिव भूपदेप साहले पार्टी निर्माणको विषय र आगामी चुनावबारे आन्तरिक छलफल भइरहेको स्पष्ट पार्दै हानेपासँगको सम्बन्धलाई पनि घुमाउराे ढंगले स्वीकार गरे। 

हाम्रो नेपाली पार्टीमार्फत नै अघि बढ्ने हो? भन्ने थाहाखबरको प्रश्नमा साहले घुमाउराे जवाफ दिए। उनले भने, ‘यो देशमा भएका सबै पार्टी हाम्रा लागि बराबर हुन्। हामीले उनीहरूका गुण र दोषका आधारमा जनताले जस्तै मूल्यांकन गर्छौँ।’   

साहले पार्टी निर्माण र आगामी चुनावबारे आन्तरिक छलफल भइरहेको कुरा लुकाएनन्। उनले भने, ‘अहिलेको परिस्थितिमा पार्टी निर्माण र चुनावबारे छलफल हुनु त सामान्य कुरा भइहायल्यो नि। देश नै त्यसैमा छलफल गरिरहेका छ तर यसबारे कुनै निर्णय भइसकेको छैन।’

गएको आमनिर्वाचनताका लौरो अभियानमा जोडिएका सुमन सायमी भने अहिले अलग भइसकेका छन्। काठमाडौँ महानगरमा बालेनसँगै प्रतिस्पर्धा गरे पनि पछि बालेनको विजय जुलुसमा सायमी सहभागी भएका थिए। पछि लौरो चुनाव चिह्न लिएर प्रतिनिधिसभा निर्वाचन लडे पनि उनी पराजित भएका थिए। 

बालेनसँगको टक्राबकै कारण अहिले सायमी ‘लौरो’बाट अलग भएका देखिन्छन्। सर्वोच्च अदालतले नदी किनारको २० मिटर छाड्नुपर्ने आदेश दिएपछि त्यसलाई कार्यान्वयन गर्न काठमाडौँ महागनर लाग्दा त्यसविरुद्धको आन्दोलनलाई सायमीले नेतृत्व गरेका थिए। त्यहीबेलादेखि बालेनसँग दूरी बढ्यो र उनी अहिले राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीमा छन्। 

जेनजी नेतृत्व दावी गर्ने सुदन गुरुङको समर्थन पनि बालेनलाई! 

जेनजी आन्दोलनपछि प्रधानमन्त्री कसलाई बनाउने भन्नेमा बालेन र जेनजीहरूको अगुवाका रूपमा देखिएका सुदन गुरुङको रोजाइ मिलेको थियो। सुदनले सुशीला कार्कीलाई प्रस्ताव गरेपछि त्यसमा बालेनले पनि समर्थन जनाएका थिए।  

अहिले गुरुङ पनि बालेनको समर्थनमा देखिन्छन् तर उनले बालेनसहित अन्य समाजका प्रतिष्ठित व्यक्ति एक ठाउँ आउनुपर्नेमा जोड दिन्छन्। 

उनी भन्छन्, ‘हाम्रो टार्गेट त सहजीकरण गरेर समाजका सबै राम्रा व्यक्तिहरूलाई एउटै टेबलमा ल्याउने हो। बालेनमात्रै होइन, हर्क, महावीर, सन्दुकलगायतका सबै व्यक्ति एक ठाउँमा रहने हो भने हाम्रो समर्थन रहन्छ। अहिले त्यसैका लागि हामीले कोअर्डिनेट गरिरहेका छौँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *