सर्लाही, १५ असाेज । सर्लाहीको हरिपुर्वामा आज (बुधबार) बिहान माटोको ढिस्कोमा पुरिएर चार जनाको मृत्यु भएको छ ।

सर्लाही र महोत्तरीको सीमा भएर बग्ने हरिपुर्वा नगरपालिका–१, स्थित हर्दी खोलामा माटो लिन गएका तीन जना बालबालिका र एक जना वृद्धको घटनास्थलमै मृत्यु भएको हो । मृतक सबै महोत्तरीको सोनमा गाउँपालिका–६, मगरथानाका रहेका छन् ।

मृत्यु हुनेहरुमा ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सबिबा खातुन, आठ वर्षीय डिल्लु मन्सुर र नौ वर्षिया नर्गिस खातुन रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका सह–प्रवक्ता एवं प्रहरी निरीक्षक बालिष्टर सिंहले बताए ।

घटनास्थलमा अचेत अवस्थाम रहेका चारै जनालाई प्रादेशिक अस्पताल मलङ्गवा लगेर चेकजाँच गराउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

खोला किनारमा खुर्पीले माटो खन्ने क्रममा ढिस्को नै खसेर चारै जनालाई पुरेको स्थानीय धर्मेन्द्र पासवानले जानकारी दिए ।

पासवानका अनुसार चाडपर्वमा पूजापाठका लागि छ जना एकैसाथ माटो लिन आएकामध्ये दुई जना भाग्न सफल भएका छन् ।

सुरक्षित रहेका दुई जनाले घटनाबारे जानकारी गराएपछि गाउँलेहरु घटनास्थलमा आइपुगेका थिए । प्रहरीसमेत घटनास्थलमा पुगेर मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगेको छ ।

जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता सिंहले घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार घाईते हुनेहरुमा महोत्तरी सोनमा गाउँपालिका – ६ मगरथाना निवासी ७ वर्षीया आयसा खातुन, सोहि ठाउँ निवासी २५ वर्षीया रोजिया खातुन र ११ वर्षीया आस्मिन खातुन रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *