सर्लाही, १५ असाेज । नेपालको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोग गर्न विदेशमा रहेका नेपालीहरूलाई अनुरोध गरिएको छ ।
विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरूले विदेशमा रहेका नेपालीलाई कोषमा सहयोग गर्नु अनुरोध गरेका हुन् ।
२३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा सिंहदरबार, संसद् भवन, प्रधानमन्त्री निवास, राष्ट्रपति भवन, अदालत, प्रहरी चौकी लगायतका सरकारी संरचनामा आगजनी तथा तोडफोड गरिएको थियो । धेरै सरकारी कार्यालयहरू जलेर पुर्णरूपमा ध्वस्त बनेका छन् ।
भौतिक पूर्वाधारमा पुगेको क्षतिको पुनर्निर्माण गर्न ५ असोजमा बसेको मन्त्रिपरिषद बैठकले भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०८२ जारी गरेको थियो। सोही अनुसार पुनर्निर्माणका लागि सरकारले पुनर्निर्माण कोष खडा गरेको थियो ।
अर्थ मन्त्रालयले भौतिक क्षतिको पुनर्निर्माण गर्न उक्त कोषमा सहयोग गर्न स्वदेश तथा विदेशमा बस्ने नेपालीलाई अनुरोध गरिएको थियो । सोही अनुसार विदेशस्थित नेपाली नियोग तथा दूतावासहरूले कोषमा सहयोग गर्न नेपालीहरूलाई अनुरोध गरेका हुन् ।
कतारस्थित नेपाली राजदूतावासले एक सुचना जारी गर्दै कोषमा सहयोग गर्न अनुरोध गरेको छ । जेनजी आन्दोलनका क्रममा देशका अधिकांश स्थानहरूमा क्षति पुगेका र भौतिक पूर्वाधारहरूको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहत लगायतका कार्यका लागि सरकारले कोष स्थापना गरेको भन्दै त्यसमा सहयोग गर्न अनुरोध गरेको हो ।
कतार तथा इरानमा रहेका नेपाली तथा गैर आवासीय नेपालीलाई आफ्नो तर्फबाट अमूल्य योगदान गरी राष्ट्र पुनर्निर्माणको महान अभियानमा सहभागी हुन अनुरोध गरेको हो ।
त्यस्तै कुवेतस्थित नेपाली राजदूतावासले समेत सामाजिक संजाल फेसबुकमार्फत कोषमा सहयोग गर्न अनुरोध गरेको छ ।
नेपाली राजदूतावास इजरायलले समेत कोषमा सहयोग गर्न अनुरोध गरेको छ। दूतावासले इजरायल र साइप्रसमा रहेका नेपालीहरूलाई सहयोग गर्न अनुरोध गरेको हो । आफ्नो तर्फबाट सहयोग गरि राष्ट्रको पुनर्निर्माणको महाअभियानमा सहभागी हुन दुतावासको अनुरोध छ ।
विदेशमा रहेका नेपालीहरूले समेत कोषमा सहयोगार्थ विभिन्न कार्यक्रमको आयोजना गर्न थालेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मातृभूमि प्रतिको दायित्व र कर्तव्य भएको बताउँदै कोषमा सहयोग गर्न अनुरोध गरेको छ ।
अध्यक्ष महेशकुमार श्रेष्ठले एक सूचना जारी गर्दै भूकम्प, बाढी र अन्य संकटका बेला एनआरएनले सहयोग गर्दै आएको जनाउँदै देशलाई संकट परेको बेला सहयोग गर्न अनुरोध गरेका हुन् ।
एनआरएनए नेपाल पुनर्निर्माण अभियान’ मार्फत राष्ट्र पुनर्निर्माण, प्रशासनिक सेवा पुनर्स्थापना र सुरक्षा सुनिश्चित गर्नका लागि योगदान गर्न अनुरोध गरिएको हो । हरेक देशमा रहेका एनआरएन समुदायलाई सहयोग गरी यस मिसनलाई सफल बनाउन समेत अनुरोध गरिएको छ ।