सर्लाही, २० असाेज । सर्लाही जिल्लाको पर्सा गाउँपालिका–१ हर्दी खोलाको किनारमा आज बिहान एक महिलाको शव फेला परेको छ ।
ईलाका प्रहरी कार्यालय संग्रामपुरका अनुसार आज बिहान करिब साढे ६ बजे खोलाको किनारमा नाम, थर र वतन नखुलेकी अन्दाजी ३० देखि ३५ वर्ष उमेरकी महिलाको शव फेला परेको हो ।
घटनाको जानकारी प्राप्त भएपछि प्रहरी हवलदार सत्रुधन प्रसाद कुशवाहाको कमाण्डमा खटिएको प्रहरी टोलीले स्थलमा पुगेर घटनास्थल सुरक्षित राखेको जनाएको छ ।
त्यसपछि प्रहरी निरीक्षक बलिष्टर सिंहको कमाण्डमा ९ जनाको टोली सर्जमिन, मुचुल्का लगायतका प्रक्रिया पूरा गर्न घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ ।
हाल मृतक महिलाको परिचय खुल्ने प्रयास भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको ईलाका प्रहरी कार्यालय संग्रामपुरले जनाएको छ ।