सर्लाही, २० असाेज । निरन्तर वर्षापछि आएको भीषण पहिरोले दार्जिलिङ र आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुगेको छ । विभिन्न इलाकाका प्रहरी चौकीबाट प्राप्त विवरणअनुसार हालसम्म कुल १८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

दार्जिलिङ प्रशासनले भने इलामतर्फको मानेभञ्ज्याङमा मृत्यु भएका पाँच जना समेतलाई आफ्नो तथ्यांकमा राखेर मृत्यु हुनेको संख्या २३ बताएको छ ।

भारतीय जनता पार्टीको तर्फबाट दार्जिलिङबाट लोक सभामा निर्वाचित लोक सभा सदस्य राजु विष्टले समेत आज बिहान मिडियासँग बोल्दै बाढी पहिरोका कारण १८ जना भारतीय र ५ जना नेपालीको निधन भएको बताएका छन् । मृत्यु भएका सबै नेपालीभाषी हुन् ।

मृत्यु हुनेमा दार्जिलिङ सदर प्रहरी चौकी अन्तर्गत सूम क्षेत्रकी ३५ वर्षीया रिझा राईको मृत्यु भएको छ । जोरबुङ्लो प्रहरी चौकी क्षेत्रबाट चार जनाको मृत्यु पुष्टि भएको छ ।

तीमध्ये तामसाङका २१ वर्षीय वाङछुक तामाङ, सालु डिभिजन मारायबोङकी ३५ वर्षीया लैला राई, पुस्सिम्बिङ टी गार्डेनकी ६५ वर्षीया सीमा शिवा, र रिङ्टोंग टी गार्डेन फूलबारीकी ६५ वर्षीया पुरुस्ता सुब्बा रहेका छन् ।

सुकियापोखरी प्रहरी चौकी क्षेत्रमा सियोक टी गार्डेनका ६७ वर्षीय मानबहादुर प्रधान र ६५ वर्षीया विमला प्रधानको मृत्यु भएको छ ।

मिरिक प्रहरी चौकी क्षेत्रमा सबैभन्दा बढी मानवीय क्षति भएको छ । मिरिकको विभिन्न स्थानमा गरी ११ जनाको मृत्यु पुष्टि भएको छ । मृतकमध्ये वडा नम्बर ९ का ९ वर्षीय आहान क्षेत्री, १२ वर्षीया रुही भूटिया, जसबिर गाउँका ५० वर्षीय पुछुङ डुक्पा र ४६ वर्षीया सुम्नित लेप्चा रहेका छन् ।

सालबारीका १९ वर्षीया स्नेहा प्रधान, ४२ वर्षीय अनुज प्रधान सम्भू र ४१ वर्षीया अनिता प्रधानको धर्मगाउँ मेचीमा मृत्यु भएको हो । त्यस्तै, भक्तिनगर बरफाप्री की १२ वर्षीया आरुशी क्षेत्रीको पनि धर्मगाउँ मेचीमै मृत्यु भएको छ । मिरिक थाना लाइनका ७० वर्षीय बिजेन्द्र राई, ७२ वर्षीया उषा राई र ३५ वर्षीया साधना तामाङ लामाको पनि मृत्यु पुष्टि भएको छ । यसरी भारततर्फ १८ जना र नेपालतर्फ ५ जना गरी हालसम्म कुल २३ जनाको मृत्यु भएको दार्जिलिङ प्रशासनले जनाएको छ ।

यसैबीच पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले घटनास्थलको आज साँझ भ्रमण गर्दैछिन् । उनी आउने भएपछि सिलिगुडीबाट मिरिक आउने बाटोलाई स्थानीय प्रशासनले वान वे बनाएको छ ।

भारतका प्रधानमन्त्री, राष्ट्रपति र गृहमन्त्रीले मृत्युमाथि गहिरो शोक व्यक्त गरेर शन्देश जारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *