सर्लाही, २७ असाेज । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘बाघ’ र नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई ‘ब्वाँसो’को संज्ञा दिएका छन् ।
एक टीभी अन्तर्वार्तामा उनले नाम नलिईकन जेनजी आन्दोलनपछि ओलीले बाघ र प्रचण्डले ब्वाँसोको प्रवृत्ति देखाएको टिप्पणी गरेका हुन् ।
‘म पात्रमा भन्दा पनि प्रवृत्तिमा जान चाहन्छु । यो जेनजी विद्रोहले सतहमा ल्याइदिएको विषयचाहिँ के हो भने पुरानो कुरा त छोडौँ, सधैँ विकृति, विसंगति, आन्दोलन भइराखेकै हुन्छ, तर संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछिका १० वर्ष, जसले नेपाललाई सुशासन र समृद्धिको दिशामा जाने यात्रा देखि ने गरी सुरु गर्नुपर्थ्यो र युवाहरूको जीवनमा परिवतर्न आउनुपर्थ्यो ।
यस क्रममा हिजोका तीन पुराना दलका तीनवटै नेताले पालैपालो जुन ढंगले कुर्सीको खेल खेल्नुभयो । र, उहाँहरूकै विरुद्धमा नै यो आन्दोलन लक्षित भो, नारा पनि त्यसरी लागे’, पत्रकार राजेन्द्र बानियाँसँग डा भट्टराईले भनेका छन्, ‘तिनैमध्येका तपाईंले संकेत गरेको एकजनाले आएर सबै ठिक छु भन्छन् उनी, त्यो एउटा बाघ प्रवृत्ति भन्छु ।
आफूचाहिँ सिद्धिन लाग्दा पनि अलि अलि गर्जिन खोज्ने । अब अर्कोचाहिँ ब्वाँसो प्रवृत्ति– त्यल्लेचाहिँ फेरि यो परिवर्तनमा फेरि पनि स्पेस पाउँछु कि भनेर भेडाको छाला ओढ्ने ब्वाँसो भनेजस्तो गरेर फेरि तीचाहिँ मैले गर्याथेँ, मैले ऊ गर्याथेँ भनेर जुन भन्न खोज्या छन् । आखिर यी प्रवृत्ति एउटै प्रवृत्ति हो। मैले त्यसैलाई संकेत गरेको हुँ ।’
डा भट्टराईले गत शनिबार फेसबुकमा लेखेका थिए, ‘अंग्रेजीमा एउटा प्रसिद्ध भनाइ छ: ‘सक्सेस ह्याज हन्ड्रेड फादर्स; डिफिट इज ओफन’ अर्थात् ‘सफलताका सयजना पिता हुन्छन्; असफलता टुहुरो हुन्छ’ । नेपालीमा पनि एउटा त्यस्तै भनाइ छ: ‘माछा देखे भित्र हात, सर्प देखे बाहिर हात !’
अन्तर्वार्तामा उनी आफ्नो त्यही स्टाटसको आशय बताउँदै थिए ।
बाबुराम: मैले त जेनजी आन्दोलनलाई सुरुदेखि नै यसको प्रशंसा गर्दै आफूले जानेबुझेका कुराहरू सम्प्रेषण गरेर सहयोग गर्ने प्रयत्न गर्दै नै आएको छु। अहिले एक महिना नाघ्दाचाहिँ यो अलि सुस्ताए सुस्ताएजसरी अन्योल अन्योलजस्तो परेको र हुँदाहुँदा जेनजीहररूको प्रतिनिधित्व गर्ने को हो, राष्ट्रपतिकहाँ को जाने भन्ने विषयमा हानथाप भएको र विद्रोहका बेलामा अन्यथा त नगरौँ, जे होस् दुलोभित्र पस्नुभएका नेताहरू अहिले फुत्त आएर फेरि सबैथोक मैले गरेको भन्ने कुराहरू जुन आइराखेको छ, मैले त्यही सन्दर्भमा अंग्रेजीको त्यही भनाइ सँगसँगै मैले नेपाली भनाइ पनि राखेको छु– माछा देखे भित्र हात, सर्प देखे बाहिर हात!
प्रश्न: तपाईंले जुन प्रवृत्ति र जसका विरुद्ध जेनजी विद्रोह भएको थियो, तिनीहरू फेरि मुख खोल्न थाले, बोल्न सुरु गरे, या सतहमा आउन थाले, जे भन्नुभाछ, उनीहरूको प्रतिनिधिको एउटा पात्रको भनाइ सापटी लिने हो भने त जेनजी विद्रोह भनेको फाँफु मात्र थियो, यस्तो हाहुले केही गर्न सक्दैन, गर्ने त हामी नै हो, त्यसले के प्रतिबिम्बित गर्छ?
बाबुराम: म पात्रमा भन्दा पनि प्रवृत्तिमा जान चाहन्छु। यो जेनजी विद्रोहले सतहमा ल्याइदिएको विषयचाहिँ के हो भने पुरानो कुरा त छोडौँ, सधैँ विकृति, विसंगति, आन्दोलन भइराखेकै हुन्छ, तर संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछिका १० वर्ष, जसले नेपाललाई सुशासन र समृद्धिको दिशामा जाने यात्रा देखिने गरी सुरु गर्नुपथ्र्यो र युवाहरूको जीवनमा परिवतर्न आउनुपथ्र्यो। यस क्रममा हिजोका तीन पुराना दलका तीनवटै नेताले पालैपालो जुन ढंगले कुर्सीको खेल खेल्नुभयो। र, उहाँहरूकै विरुद्धमा नै यो आन्दोलन लक्षित भो, नारा पनि त्यसरी लागे, तिनैमध्येका तपाईंले संकेत गरेको एकजनाले आएर सबै ठिक छु भन्छन् उनी, त्यो एउटा बाघ प्रवृत्ति भन्छु। आफूचाहिँ सिद्धिन लाग्दा पनि अलि अलि गर्जिन खोज्ने। अब अर्कोचाहिँ ब्वाँसो प्रवृत्ति– त्यल्लेचाहिँ फेरि यो परिवर्तनमा फेरि पनि स्पेस पाउँछु कि भनेर भेडाको छाला ओढ्ने ब्वाँसो भनेजस्तो गरेर फेरि तीचाहिँ मैले गर्याथेँ, मैले ऊ गर्याथेँ भनेर जुन भन्न खोज्या छन्। आखिर यी प्रवृत्ति एउटै प्रवृत्ति हो। मैले त्यसैलाई संकेत गरेको हुँ।
