सर्लाही, २८ असाेज । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४, त्रिभुवननगरमा वैध रकमलाई अवैध भन्दै प्रहरीले बरामद गरेपछि त्यसको विरोधमा सोमबार दिउँसो सदरमुकाम मलंगवामा प्रदर्शन गरिएको छ ।
प्रहरी चौकी त्रिभुवननगरले आईतबार चन्द्रनगर गाउँपालिका–५, मोहनपुरका २५ वर्षीय आलम मन्सुर र ४० वर्षीय विकाउ मन्सुरलाई बीआर ०६ बी. टी. ३४३६ नम्बको मोटरसाइकल चेक जाँच गर्ने क्रममाा नगद ५ लाख ४५ हजार रुपियाँसहित नियन्त्रणमा लिएको छ । मन्सुरले उक्त रकमको स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी सरोज राईले बताए ।
प्रहरीले पक्राउ परेका दुवै जना र बरामद रकम आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाइसकेको छ । मन्सुरका परिवार, आफन्त र गाउँलेले विवाहको सरसामग्री किनमेलका लागि बोकिएको पैसा भन्दा भन्दै प्रहरी चौकी त्रिभुवननगरका प्रहरीले लुटपाट शैलीमा रकम बरामद गरेको आरोप लगाउँदै सदरमुकाम मलंगवामा प्रदर्शन गरेका हुन् ।
उनीहरुले सदरमुकाम मलंगवास्थित कुमारी बैंकको शाखाबाट रकम निकालिएको स्टेटमेन्ट देखाइरहेका छन् । सोही स्टेटमेन्ट बोक्दै उनीहरुले मलंगवाको जिविस चोकमा टायर बालेर प्रदर्शनसहित प्रहरी, प्रशासनविरुद्ध चर्को नाराबाजीसमेत गरेका थिए ।
चन्द्रनगर गाउँपालिका–५, मोहनपुरकी अप्सना खातुनले छोरीको विवाहका लागि किनमेल गर्न भन्दै नातेदार विकाउ र आलमलाई पैसा बुझाएको दावी गरिएको छ । प्रहरीले वास्तविकता बुझ्दै नबुझी हतारहतार भन्सारमा लगेर मानिस र पैसा बुझाएको प्रदर्शनकारीले आरोप लगाएका छन् ।
सर्लाही प्रहरीका प्रवक्ता डिएसपी राईले भने शङ्कास्पद अवस्थामा पैसा बोकेर हिँडेको र तत्काल सोधपुछ गर्दा पैसाको स्रोत खुलाउनै नसकेकाले कानून बमोजिम भन्सारमा बुझाइएको दावी गरेका छन् ।
