सर्लाही, २७ असोज । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले निर्वाचन आयोगको निष्पक्षता प्रश्नमा उठाउदैँ जेन–जी आन्दोलनले अब आयोगलाई निष्पक्ष बनाउन पहल गर्नुपर्ने बताएका छन् ।
उनका अनुसार आयोगले कुनै सामान्य निवेदनमा समेत ‘यो मिलेन, त्यो मिलेन’ भन्दै हप्तौँसम्म अल्झाउने, पार्टीको ठेगाना वा इमेल अपडेट गर्न महिनौँ लगाउने, र आवश्यक कागजात पुर्याउँदासमेत निर्णय नगर्ने प्रवृत्ति देखाएको छ ।
“निर्वाचन आयोगमा सानो निवेदन दियो भने पनि हप्तौँसम्म झन्झट पार्छ । सक्कल निर्णय ल्याउनुस्, यो ल्याउनुस्, त्यो ल्याउनुस् भन्दै महिनौँ अल्झाउँछन्,” राउतले लेखेका छन् ।
उनका अनुसार जनमत पार्टीले २०७८ सालदेखि आयोगमा आवश्यक सबै प्रक्रिया पूरा गरी करिब दर्जनौँपटक निवेदन बुझाए पनि आयोगले अद्यावधिक नगरेको उल्लेख गरेका छन् । “हामीले लुम्बिनीको समानुपातिक सांसद मनोनयनका सबै कागजात बुझाइसकेका महिनौँ भइसक्दा पनि आयोगले निर्णय गरेको छैन,” उनले भने ।
राउतले नयाँ दल दर्ताका बेला आयोग ढिलो गर्ने तर पार्टी फुटाउँदा भने एकैदिनमा सनाखत र निर्णय गर्ने दोहोरो मापदण्ड देखाएको आरोप लगाए ।
“जनमत पार्टी फुटाउन जाँदा एकैदिनमै सनाखत, निर्णय र काम तमाम ! कसको आदेशमा यो सब भइरहेको हो ? निर्वाचन आयोगले जवाफ दिनैपर्छ,” उनले प्रश्न उठाएका छन् ।
उनका अनुसार कुनै पार्टी फुटाउने ऐन नै नभएको र आयोगले प्रक्रिया नपुगेका व्यक्तिहरू—स्वेच्छिक राजीनामा दिएका, अर्को पार्टी खोलेर चलाइरहेका र कारबाही भइसकेका व्यक्तिहरूको सनाखत स्वीकार गरेर अवैधानिक निर्णय गरेको दाबी गरे ।
राउतले लेखेका छन्, “यस्तो निर्वाचन आयोगले कदाचित निष्पक्ष निर्वाचन गराउन सक्दैन । जेन–जी आन्दोलनले अब आयोगलाई निष्पक्ष बनाउन पहल गर्नैपर्छ ।”
उनले बारा–२ को उपनिर्वाचनको उदाहरण दिंदै आयोगका अधिकारीहरू फर्जी मतदानमा संलग्न भएको आरोपसमेत लगाए ।
“हामीले बारा–२ को निर्वाचनमा देख्यौं—कसरी आयुक्तदेखि अधिकृतसम्म मिलेर फर्जी मतदान गरेर निर्देशित पात्रलाई जिताइएको थियो,” राउतको भनाइ छ ।
राउतले अन्त्यमा जनमत पार्टीका सबै कार्यकर्ता र समर्थकहरूलाई आगामी दिनका लागि शुभकामना दिँदै भनेका छन्, “मित्रहरूलाई सफलताको हार्दिक शुभकामना । तपाईंहरूको मनोकामना पूरा होस्, हाम्रो सदा शुभेच्छा रहनेछ ।”
