सर्लाही, २९ असाेज । सोसल मिडिया कम्पनी मेटाले आफ्ना प्लाटफर्महरुका प्रयोगकर्ताको अनुभवलाई अझै उत्कृष्ट बनाउनका लागि लगातार नयाँ नयाँ फिचरहरू थप गर्ने गरेको छ ।
यसै क्रममा मेटाले प्रयोगकर्तालाई ह्वाट्सएपमा आफ्नो फेसबुक अकाउन्ट जोड्ने सुविधा उपलब्ध गराउने भएको छ । यसअघि केवल इन्स्टाग्राम मात्रै लिंक गर्ने सुविधा रहेकोमा अब ह्वाट्सएपमा फेसबुक पनि जोड्न सकिनेछ ।
यो फिचरले प्रयोगकर्तालाई आफ्नो पहिचान सत्यापित गर्न तथा अरुसँग सहज रुपमा जोडिनका लागि सहयोग गर्नेछ। यो नयाँ फिचर हाल एन्ड्रोइडको बिटा भर्सनमा मात्रै सुरुवात गरिएको छ । बिटा भर्सन परीक्षण गर्ने कतिपय प्रयोगकर्ताले यसको पुष्टि गरेका छन् ।
यसअघि सम्म यो सुविधा केवल ह्वाट्सएप बिजनेस अकाउन्टहरुमा मात्रै सीमित थियो, जहाँ भेरिफाइड सोसल मिडिया लिंक्स मात्रै देखिन्थे । अब चाहीँ सामान्य प्रयोगकर्ताले पनि आफ्नो फेसबुक प्रोफाइललाई ह्वाट्सएपमा लिंक गर्न सक्नेछन् ।
समाचार अनुसार जब प्रयोगकर्ताले ह्वाट्सएपमा आफ्नो फेसबुक अकाउन्ट जोड्नेछन् तब त्यसको लिंक ह्वाट्सएप प्रोफाइलमा देखिनेछ ।
उक्त लिंकमा क्लिक गरेर अन्य प्रयोगकर्ता सिधै उक्त फेसबुक प्रोफाइलमा जान सक्नेछन् । उक्त फिचर पूर्णरुपमा स्वेच्छिक हुनेछ ।
प्रयोगकर्ताले आफ्नो मेटा अकाउन्ट सेन्टमा गएर अकाउन्ट भेरिफाइ गर्न सक्नेछन्। भेरिफिकेसन पछि लिंकको अगाडि फेसबुकको सानो आइकन पनि देखिनेछ ।
मेटाले ह्वाट्सएपका आइफोन प्रायेकगर्ताका लागि एउटा अर्को विशेष अपडेट पनि जारी गरेको छ । ह्वाट्सएपले आइफोन प्रयोगकर्ताका लागि एपभित्रै भाषा अनुवाद फिचर पेश गरेको हो । यो फिचरले प्रयोगकर्तालाई कुनैपनि च्याटमा रहेको मेसेजलाई अनुवाद गर्ने सुविधा प्रदान गर्नेछ ।
हाल यो फिचर २१ भषामा उपलब्ध छ, जसमा अंग्रेजी, जर्मन, अरबी, चिनियाँ, हिन्दी, स्पेनिस लगायतका भाषा रहेका छन् । एकपटक भाषा डाउनलोड भएसँगै यो फिचरले अफलाइन पनि काम गर्नेछ । एजेन्सीको सहयोगमा
