सर्लाही, ०२ कार्त्तिक । सर्लाही प्रहरीले ठूलो परिमाणको लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

शुक्रबार जिल्ला सर्लाहीको पर्सा गाउँपालिका–२, संग्रामपुरस्थित आप बगैचामा गस्तीमा खटिएको प्रहरीले भारततर्फ जाँदै गरेका एक व्यक्तिलाई शंका लागेपछि रोकेर जाँच गर्दा गाँजा फेला पारेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति भारतको बिहार राज्य, सितामढी जिल्ला, थाना बेला पिपरा अन्तर्गत प्रसायन ग्राम मुजेलिया–७ का ६० वर्षीय इजरायल अन्सारी हुन् । उनले टाउकोमा हरियो र पहेंलो दुईवटा बोरा बोकेर नेपालबाट भारततर्फ जाँदै गरेका बेला पक्राउ गरिएको हो ।

बोरा खोलेर जाँच गर्दा रातो प्लास्टिकमा बेरिएका ६ पोका गाँजा फेला परेको प्रहरीको भनाइ छ । बरामद गाँजाको तौल ३१ किलो २१७ ग्राम रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

अन्सारीलाई लागुऔषधसहित नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पठाइएको छ । सो घटनासम्बन्धी लागुऔषध मुद्दामा उनलाई पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *