सर्लाही, २३ कार्त्तिक । जेन–जी आन्दोलन व्यवस्था परिवर्तनका लागि होइन, वास्तविक मुक्तिका लागि हो । किनकि, सात सालदेखि ०६२/६३ सम्म पटकपटक व्यवस्था परिवर्तनका आन्दोलन सफल भए पनि जनताले गरिबी, विभेद, भ्रष्टाचार र अन्यायबाट मुक्ति पाएनन् ।
हुन त सबैजसो राजनीतिक दलको उद्देश्य जनताको मुक्ति भनिएको छ । दलका हरेक मिटिङ सहिदप्रति श्रद्धासुमन अर्पेर सुरु गरिन्छ । सार्वजनिक ठुला कार्यक्रममा त ‘सम्मान छ, हाम्रो मुक्तिका लागि जिउज्यान दिने सहिदलाई’ भन्ने गीत नै घन्काइन्छ । तर, सहिद र मुक्ति शब्द दलको विधानमा लेखेर वा नेताले भाषणमा उच्चारण गरेर मात्र अर्थ राख्दो रहेनछ भन्ने कुरा जेन–जी आन्दोलनले प्रमाणित गरेको छ ।
नेपाललाई विभिन्न राजनीतिक व्यवस्था परीक्षणको थलो बनाइयो । दुई सय चालीस वर्षसम्म सक्रिय र संवैधानिक राजतन्त्र रहेकामा ठुलो धनजन खर्चिएर गणतन्त्र ल्याइयो ।
विश्वमा प्रचलित सबैखाले राजनीतिक व्यवस्था परीक्षण मात्र हुन पुग्दा देश आफ्नै संरचना जोगाउन नसक्ने गरी खोक्रो पारिएको तथ्य पछिल्लो आन्दोलनले उजागर गरेको छ ।
पुराना दलको अकर्मण्यताका कारण नाति पुस्ता आन्दोलित भई अघिल्ला आन्दोलनमा भन्दा बढी क्षति भइसक्दासमेत दलहरूले जेन–जीको भावना समेट्न आनाकानी गर्नुले उनीहरूको राजनीति जनताको मुक्तिका खातिर नभएको पुष्टि हुन्छ ।
विकासवादी सिद्धान्तअनुसार जन्मिएको मानिसले एक्लो घुमन्ते शैली हुँदै सामूहिक रूपमा खेतीपाती गर्न घर र औजार बनाउँदै जीवन सहज बनाए पनि अपूर्णताको दु:ख अनुभव गरेकाले दु:खबाट मुक्तिको उपायका रूपमा धर्मलाई प्रचलनमा ल्याए । धर्मलाई परिष्कृत गर्दै विकसित गरिएको अध्यात्मको केन्द्रीय विषय मानिसको दु:ख हरण गर्नु हो ।
पछि राजनीति पनि मुक्तिका लागि हो भनियो । कालान्तरमा धर्म, अध्यात्म र राजनीतिलाई धन्दामा परिणत गरिदिँदा दु:ख झनै बढ्दै गए ।
अध्यात्मले जीवनको उद्देश्य नै मुक्ति हो र मुक्तिको साधन आत्मज्ञान हो भन्छ । अध्यात्म विज्ञान हो, जो बृहत् छ । भौतिक विज्ञानको विकास अध्यात्मभित्रबाट भएको हो ।
भौतिक विज्ञान बाहिरी संसार व्यक्ति, वस्तु र स्थितिमा सीमित छ भने अध्यात्मले मानव शरीरका भित्री कुरादेखि बाहिरी संसार समेट्छ ।
मुक्ति शब्द राजनीतिक दललगायत धार्मिक र आध्यात्मिक संस्था र व्यक्तिले सर्वत्र प्रयोग गर्ने तर जनताले मुक्तिको सास फेर्न नपाउने अवस्था किन आयो ? जेन–जी पुस्ता आन्दोलनमा होमिन किन बाध्य भयो ? र, आन्दोलित हुन केले हिम्मत दियो ? भावी पुस्ता पुन: आन्दोलित हुन नपर्ने अवस्था कसरी सिर्जना गर्ने ? भन्ने प्रश्नमा गम्भीरतापूर्वक सोचविचार गरी निष्कर्ष निकाल्न जरुरी छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रमा शासन गर्ने दलहरूले नै हो । जनमुखी हुनुपर्ने दलका नेता–कार्यकर्ता आफ्नो निजी स्वार्थउन्मुख भई सत्तामोहमा डुब्दा वर्तमान व्यवस्था दुराचारी राजनीतिको बन्धनमा पर्यो ।
दल र नेताप्रति प्रश्न गर्नेहरू किनाराकृत गर्दै व्यक्तिले शीर्ष नेताको आवरणमा दल कब्जा गरेर दल बन्धनमा पारियो । व्यवस्था र दल दुवै बन्धनमा पारी सर्वत्र भ्रष्टाचार व्याप्त गराएकाले भ्रष्टाचारले इमानदार नागरिकको गरिखाने वातावरण बन्धनमा पर्यो ।
यी बन्धनले देशको स्रोतसाधनमा जनशक्ति र प्रविधि सही ढंगले परिचालित गर्ने अवसर बन्धनमा पारी देश शून्य उत्पादनउन्मुख भयो । युरोपमा नक्कली धर्मले मच्चाएको अमानवीय बर्बरताबाट जनता जोगाउन कार्लमाक्र्सले धर्म अफिम हो भने । हाम्रा नेताले अफिम भन्नुपरेको कारण नबुझी धर्म र अध्यात्मप्रति बेवास्ता गरेकाले नेतामा होस र बोधको अभाव देखियो । होस भनेको जागरुकता हो, जो वर्तमानसँग जोडिएको हुन्छ ।
सत्य वर्तमानलाई छाड्दै झुटो भूत र भविष्यका कुराका आधारमा सतही र कर्मकाण्डी राजनीति गरेर देश र जनतालाई भ्रष्टाचारी कुशासनको बन्धनमा पारे । भूत, वर्तमान र भविष्यमा सदा रहन सक्ने कुरा मात्र सत्य हो । वर्तमान भूतमा पनि थियो, आज छ र भविष्य पनि वर्तमान बनेर आउने हुँदा सदा रहन्छ ।
बोधको निसानी हो, व्यर्थ ज्ञान कम हुँदै जानु । वास्तविक ज्ञानीमा ज्ञानको भण्डार हुँदैन, मुक्तिको दिशातिर अग्रसर हुन चाहिने दुई–चार कुरा मात्र हुन्छन् । अज्ञानीले भोग्नका लागि धेरै कुरा जानेको र संग्रह गरेको हुन्छ । दुई–चार ढोका भएको लामो अग्लो पर्खाललाई उदाहरणका रूपमा लिन सकिन्छ ।
ज्ञानीले ढोकाको मात्र जानकारी राख्छ, पर्खाल नाघेपछि बिर्सिदिन्छ । अज्ञानीले पूरै पर्खालको नापनक्सा जानकारी लिएर दिमाग भर्छ । ज्ञान विचार होइन, दृष्टि हो, जो तात्कालिक हुन्छ ।
पुराना दलका नेताको दिमागमा आफ्नै विगतको स्मृति र पुराना मक्किएका सैद्धान्तिक कुराको ज्ञान बढी नै संग्रहित छ । उनीहरूका लिखित नीति, कार्यक्रम र भाषणले बढी जान्ने बनेको दर्साउँछ । नेताहरू भोगको लोभमा परी बढी नै संग्रह गरेको ज्ञानले स्वच्छ राजनीति विकसित हुन अवरोध गर्यो ।
पुराना दलका नेतामा निष्कामता पनि देखिएन । सत्य निष्काम हुन्छ । निष्कामताको लक्षण हो, विगतको स्मृति हराउँदै जानु । किनकि, स्मृतिले अहंकारलाई पोषण दिन्छ । अहंकार र स्मृति भूत र भविष्यसँगसँगै हिँड्ने झुट हुन् । यिनले जीवनलाई सत्यबाट टाढै राखेर धोका दिन्छन् ।
समस्याको जड दलका नेता–कार्यकर्ता र जनतामा रहेको अज्ञानता हो । देशले धेरै पहिलेदेखि यो अज्ञानताको बन्धनबाट मुक्ति चाहेको थियो । अज्ञानताको बन्धन ज्ञानले मात्र तोड्छ ।
ज्ञानको स्रोत आत्मा हो । अहंकार नष्ट भएपछि मात्र आत्मबोध हुन्छ । अहंकारको स्रोत शरीर हो । त्यसैले ज्ञानी हुन ज्ञानाग्निमा अहंकारको आहुति दिन ठुलो त्याग र श्रम गर्नुपर्छ ।
आफूमा भएको अहंकार त्यागेर आफू मारिन तयार हुँदै ठुलो त्याग र श्रम गर्ने हिम्मत निकालेर जेन–जी आन्दोलनमा होमिन सकेका हुन् ।
जेन–जीको त्याग र समर्पणले पुराना नेताको व्यक्तिगत अहंकारबाट बनेको सरकार ढालेर देश र जनताको मुक्तिको ढोका उघार्ने सफलता मिलेको हो ।
काल्पनिक दार्शनिक मान्यता र धारणाका आधारमा अघि सारिएका यो वा त्यो वाद अगालेर देशको उन्नति हुन सक्दैन भन्ने कुरा ढलेको सोभियत संघ, सन् २००८ मा अमेरिकाले व्यहोरेको आर्थिक मन्दी र माओवादलाई आवश्यकताको सिद्धान्तका आधारमा देङ सिआओ पिङले परिमार्जन गरेपछि मात्र चीन विश्व महाशक्तिका रूपमा उदाएको घटनाक्रमले प्रमाणित गरिदिएका छन् ।
जेन–जी आन्दोलनले मुक्तिको ढोका खोलेको मात्र हो, प्राप्त गरेर उपभोग सुनिश्चित गर्न बाँकी नै छ । २१ फागुनमा हुने निर्वाचनमा सुशासन बहालीका लागि संविधान संशोधन र आवश्यक कानुन निर्माण गरी आन्दोलनरत जेन–जीको भावना संस्थागत गर्न सक्ने क्षमतावान् व्यक्तिलाई निर्वाचित गर्न सके मुक्ति प्राप्ति सुनिश्चित हुन्छ ।
पुराना दलबाट भएको निषेधको राजनीतिले नेपाली समाज राग, द्वेष र मोहजस्ता मनोविकारग्रस्त हुन पुगेकाले संविधान र कानुनमा उल्लेख गरिए पनि मुक्ति उपभोगको सुनिश्चितता हुने देखिँदैन ।
मुक्ति उपभोग सुनिश्चित गर्न अहिले अहंकारको केन्द्रबाट चलेको राजनीतिलाई आत्माको केन्द्रबाट चल्ने गरी बदल्नैपर्छ । नेता आत्मज्ञानी भयो भने आत्मकेन्द्रबाट राजनीति सञ्चालित हुन्छ ।
आत्मज्ञानका तीन सर्त हुन्छन्– श्रद्धा, संयम र साधना । लोकधर्मीले श्रद्धालाई विश्वासका रूपमा अथ्र्याएर श्रद्धा शब्दको ओज घटाएका छन् । जेन–जीले आन्दोलन गरेर श्रद्धाको उदाहरण प्रस्तुत गरिसके ।
उनीहरूको श्रद्धाले मुक्तिको ढोका खुल्यो । आन्दोलनरत जेन–जीले मुक्तियात्रा सुरु गराएर अहिले संयमको चरणमा प्रवेश गरेका छन् ।
नेपाली राजनीतिको पुरानो केन्द्र अहंकार सक्रिय नहुने गरी राजनीतिका पुराना प्रश्नको नयाँ उत्तर आत्मज्ञानको केन्द्रबाट दिनु साधना हो ।
अन्तरिम सरकारले पुराना दल र जेन–जीबिच स्वस्थ संवादको सहजीकरण गर्दै निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता व्यवहारमा उतारेको अवस्थामा अहिलेसम्म एउटै दलमा गोलबन्द भएर जनता जागरुक बनाउन उनीहरूको घरदैलोमा पुगिसक्नुपर्ने जेन–जीहरूले संयम र साधनामा जोड दिनुपर्ने देखिन्छ ।
