सर्लाही, २५ कार्त्तिक । मलंगवा नगरपालिकामा होमप्रसाद घिमिरे नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा भएर आउने भएका छन् ।
घिमिरे महोत्तरीको जलेश्वर नगरपालिकाबाट सरुवा भएर मलंगवा आउन लाग्नुभएको हो । सर्लाहीको लालबन्दी निवासी घिमिरे यसअघि सर्लाहीमै सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत रहनुभएको थियो ।
पूर्व प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीको सरुवापछि अमनकुमार कर्णलाई मलंगवा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाइएको थियो । तर, कर्णले कार्यभार ग्रहण नगरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गएको कात्तिक २१ गते उहाँलाई धनुषाको सबैला नगरपालिकामा सरुवा गरेको थियो ।
त्यसपछि मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा होमप्रसाद घिमिरेलाई मलंगवामा पठाएको हो ।
नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतसम्बन्धी विवादका कारण हाल मलंगवा नगरपालिकाको खाता कोष तथा लेखा नियन्त्रण कार्यालयले रोक्का गरेको छ । यसले सामाजिक सुरक्षा भत्ता वितरणलगायतका सेवा–सुविधा प्रभावित भएका छन् ।
सोही विषयमा उप–प्रमुख शकुन्तला देवी साहसहित वडा अध्यक्षहरूले १० बुँदे माग राख्दै नगरपालिकामा तालाबन्दी गरेका छन् । प्रशासनिक विवादका कारण नगरपालिकाका अधिकांश सेवा रोकिएका छन् ।
