सर्लाही, २८ कार्त्तिक । मधेश प्रदेशकी उपसभामुख बबिताकुमारी राउत ईशरले सुरक्षा जोखिम बढेको भन्दै प्रदेशसभा भवनभित्रको रहेको सरकारी आवास छोडेकी छन् ।

सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि प्रदेशसभामा चर्किएको राजनीतिक तनाव र विवादका कारण आफू असुरक्षित महसुस भएको उनले बताइन् ।

राउतका अनुसार कार्यकक्षमै सांसदहरू थुनिनु, विवाद बढ्नु र हातपातसम्मको प्रयास हुने घटनाले वातावरण जोखिमपूर्ण बनेको छ ।

सुरक्षा निकायको सुझावअनुसार उनले आवास छोडेर जनकपुरधामकै निजीनिवासमा बसोबास गर्ने निर्णय गरेकी हुन् ।

उनले आवास परिवर्तनले आफ्नो नियमित दायित्वमा कुनै प्रभाव नपर्ने स्पष्ट पारिन् । लगातार १० वटा बैठकमा नियमित सहभागी नभएको भन्दै सभामुख मण्डलले बिहीबार साँझ पाँच जना सांसदलाई पदमुक्त गरेपछि उपसभामुख राउतले अवैध र प्रतिशोधपूर्ण रहेको भन्दै त्यसलाई बदर गरेकी छिन् ।

सभामुख रामचन्द्र मण्डल एमाले निकट हुन् भने उपसभामुख जनमत पार्टीनिकट हुन् । नेपाली कांग्रेससहित सात दलले सभामुखको पदअनुकूल आचरण नभएको भन्दै बिहीबार उनीविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *