सर्लाही, २८ कार्त्तिक । मतदाता नामावली समावेश गर्ने अन्तिम समय नजिकिँदै गर्दा जिल्ला निर्वाचन कार्यालयकाे सर्भर अवरुद्ध भएपछि सेवाग्राहीहरूले दिनभरै सास्ती भोग्नुपरेको छ ।

कात्तिक ३० गतेसम्म मात्रै समयसीमा बाँकी रहेको अवस्थामा परिचयपत्र बनाउने, नाम समावेश गर्ने, विवरण सच्याउने तथा स्थान परिवर्तनका लागि बिहानैदेखि नै सेवाग्राहीहरूको भिड लागेको थियो ।

कतिपय त बिहान ८ बजे नै लाइन लगेका थिए । तर, कार्यालय खुलेपछि केही समय काम भए पनि सर्भर निरन्तर डाउन भएपछि दर्ता तथा सच्याउने प्रक्रिया रोकिँदै गयो ।

सेवाग्राहीहरू घाम, भिड र अनिश्चित प्रतीक्षाबिच दिनभर उभिन बाध्य भए । काम नहुँदा थकित र निराश बनेका धेरैजना अन्त्यमा घर फर्किनुपरेको अवस्थामा पुगे । कतिपयले आवश्यक जानकारी नदिइएको, सर्भर कहिले चल्ने स्पष्ट समय नबताइएको र वैकल्पिक उपायसम्बन्धी निर्देशन पनि नदिएको भन्दै आक्रोश व्यक्त गरे ।

अन्तिम मितिमा भिड बढ्ने निश्चित हुँदा कार्यालयले व्यवस्थापन अझै सुधार्ने, सहजीकरण गर्ने र सेवाग्राहीलाई स्पष्ट जानकारी दिने व्यवस्था आवश्यक छ ।

सेवाग्राहीहरूले कार्यालयमा व्यवस्थापन कमजोर रहेको, काउन्टरको संख्या कम भएको, जानकारी दिने जनशक्ति अपर्याप्त रहेको र लाइन व्यवस्थापनसमेत व्यवस्थित नभएको आरोप लगाए ।

कतिपयले आफू कुन लाइनमा उभिनुपर्ने हो भन्ने नै स्पष्ट थाहा नपाएर निकै समय बिताउनुपरेको बताए ।

यस्ता समस्याले सामान्य नागरिकलाई अनावश्यक तनाव र झन्झट निम्त्याएको सेवाग्राहीकाे भनाइ छ ।

सर्भर समस्या र व्यवस्थापनको कमजोरीका कारण सास्ती व्यहोर्न बाध्य भएका सेवाग्राहीहरूले समयसीमा नजिकिँदा यस्ता अवरोधले जनताले भोग्नुपर्ने कष्ट बढाइदिने भन्दै निर्वाचन आयोगलाई आवश्यक कदम चाल्न आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *