सर्लाही, ३० कार्त्तिक । सर्लाहीको चक्रघट्टा गाउँपालिकालाई जापान सरकारको सहयोगमा भोलेन्टियर क्रोप्स नेपालमार्फत अत्याधुनिक बारुणयन्त्र (दमकल) हस्तान्तरण गरिएको छ । संस्थाका ग्लोबल गुडविल एम्बेसडर तथा सामाजिक अभियन्ता सरोज रायको विशेष पहलमा गाउँपालिकाले यो महत्वपूर्ण साधन प्राप्त गरेको हो ।
पूर्व राजदूत तथा जसपा नेपालका केन्द्रीय सल्लाहकार समितिका संयोजक डा. रामस्वार्थ रायको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बारुणयन्त्र औपचारिक रूपमा गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।
दमकल प्राप्तपछि गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवले जापान सरकार र सहयोगी निकायप्रति आभार व्यक्त गर्दै अब स्थानीयवासीको जीउधनको सुरक्षा सुनिश्चित हुने विश्वास व्यक्त गरे । उनले दमकलको उचित सञ्चालन तथा नियमित मर्मतसम्भारका लागि विशेष कार्ययोजना बनाई अघि बढ्ने प्रतिबद्धता जनाए ।
त्यसैगरी, प्रमुख प्रशासनिक अधिकृत रामबाबु प्रसाद कुशवाहाले दक्ष जनशक्ति तयार गर्न तालिमको व्यवस्था गरिने बताए । उनका अनुसार सुख्खा मौसममा हुने आगलागीका घटनालाई छिटो नियन्त्रण गर्न यस बारुणयन्त्रले महत्वपूर्ण भूमिका खेल्ने छ ।
गत शनिबार बरहथवा नगरपालिकालाई पनि यस्तै बारुणयन्त्र हस्तान्तरण गरिएको थियो । यससँगै जिल्लाकै बरहथवा नगरपालिका र चक्रघट्टा गाउँपालिकामा दमकलको अभावका कारण आगलागी तथा अन्य विपद्कामा ठूलो क्षति बेहोँदै आएका स्थानीयले अब राहत अनुभव गर्ने भएका छन् ।
