सर्लाही । बिहानको खाजा, जसलाई अंग्रेजीमा ‘ब्रेकफास्ट’ भनिन्छ, यसको अर्थ नै हो, ‘रातको लामो उपवास तोड्नु ।’ जब हामी रातभर सुत्छौँ, शरीरले ७–८ घण्टा कुनै पनि पोषण वा ऊर्जा पाउँदैन । बिहान उठ्दा शरीरलाई पुनः ऊर्जा, ग्लुकोज र पोषक तत्त्वको आवश्यकता हुन्छ । त्यसैले बिहानको खाजा हाम्रो स्वास्थ्य, ध्यान, कार्यक्षमता र मानसिक सन्तुलनका लागि अत्यन्तै जरुरी हुन्छ ।
१. ऊर्जा प्राप्तिको प्रमुख स्रोत : बिहानको खाजाबाट शरीरले दैनिक गतिविधि गर्न आवश्यक ऊर्जा पाउँछ । रातभर हाम्रो शरीरले मर्मत र पुनःनिर्माणको काम गर्छ, जसका लागि ग्लुकोज प्रयोग हुन्छ । बिहान उठेपछि शरीरको ग्लुकोज स्तर घटिसकेको हुन्छ, त्यसलाई पुनः सन्तुलनमा ल्याउन खाजा आवश्यक हुन्छ ।
२. शरीरको मेटाबोलिज्म सन्तुलनमा राख्ने : बिहान खाजा खाँदा शरीरको मेटाबोलिज्म (पाचन तथा ऊर्जा उत्पादन प्रक्रिया) सक्रिय हुन्छ । जब बिहान खाजा छोडिन्छ, शरीरले त्यसलाई “उपवास” अवस्था मानेर ऊर्जा बचत मोडमा जान्छ, जसले क्यालोरी जल्ने दर घटाउँछ ।
३. मोटोपन र मधुमेह नियन्त्रणमा सहयोगी : धेरै अनुसन्धानले देखाएको छ कि बिहान खाजा नखाने मानिसहरूमा मोटोपन र टाइप-२ मधुमेहको सम्भावना बढी हुन्छ । जब बिहान खाजा नखाइ दिउँसो वा बेलुका अत्यधिक खाने गरिन्छ, शरीरमा ग्लुकोजको मात्रा अचानक बढ्छ, जसले इन्सुलिनको असन्तुलन ल्याउँछ । खाजा खानाले रक्तमा ग्लुकोजको स्तर स्थिर राख्छ र अनावश्यक भोक नियन्त्रण गर्छ ।
४. मुटु स्वास्थ्यमा लाभदायक : बिहान खाजा छोड्ने बानी मुटुसम्बन्धी रोगसँग पनि सम्बन्धित पाइन्छ। Harvard School of Public Health को अनुसन्धान अनुसार, बिहान खाजा नखाने पुरुषहरूमा हृदयघातको जोखिम २७% बढी हुन्छ ।
५. मनोवैज्ञानिक र मानसिक सन्तुलन : भोक र मनोभावनाबीच सीधा सम्बन्ध हुन्छ । बिहान खाजा नखादा शरीरमा सुगरको स्तर घट्छ, जसले तनाव, रिस, चिन्ता र चिडचिडापन बढाउँछ । अर्कोतर्फ, पौष्टिक खाजा खाँदा शरीरमा सेरोटोनिन र डोपामिनजस्ता “happy hormones” बढ्छन्, जसले दिनभरको मूड सन्तुलित राख्छ ।
६. बिहानको खाजा छोड्दा के हुन्छ ?
यदि हामीले नियमित रूपमा बिहान खाजा छोड्यौं भने यसका केही नकारात्मक असरहरू देखापर्न सक्छन् — ऊर्जा कमी र सुस्तता, ध्यान केन्द्रित गर्न कठिनाइ, पाचन समस्या, दिनभर बढी खाने बानी, तौल बढ्ने सम्भावना
७. नेपाली परम्परागत खाजाको उदाहरण : नेपाली घरपरिवारमा बिहान दुधचिया, ढिडो, दलिया, चिउरा-दही, फलफूल, अण्डा, आलु-तरकारी वा पराठाजस्ता भोजन सेवन गर्ने चलन छ । यी सबैमा स्थानीय पोषण तत्व पाइन्छ । ग्रामीण क्षेत्रमा मकैको भुटो, सत्तु वा गहुँको दलिया पनि निकै लाभदायक खाजाको रूपमा प्रयोग हुन्छ । यी घरेलु परिकारले शरीरलाई प्राकृतिक ऊर्जा र पोषण दिन्छन् ।
