सर्लाही, ०३ मंसिर । स्लाहीका विभिन्न स्थानमा कृषि प्रयोजनका लागि जडान गरिएको बिजुलीको ट्रान्सफर्मर चोरी गर्ने गिरोहमा संलग्न व्यक्ति बल्ल पक्राउ परेका छन् ।

जिल्ला प्रहरीले उक्त गिरोहमा रहेका ४ भारतीयसहित ९ जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो । सर्लाहीमा बागमती, रानिगन्ज, चन्द्रनगरलगायत स्थानमा १७ वटा ट्रान्सफर्मर पालैपालो चोरी गर्ने व्यक्तिहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा इलामको माइजोगमाइ गाउँपालिका–४, का २८ वर्षीय दुर्गा अधिकारी, सिन्धुपाल्चोकको पाखर गाउँपालिका–१, का ४२ वर्षीय सोनाम लामा, महोत्तरीको बर्दिवास नगरपालिका–३, का ५३ वर्षीय बुधे माझी, पर्साको वीरगन्ज महानगरपालिका–१६, का ३३ वर्षीय दिलिपकुमार ओझा र बाराको जितपुर सिमरा उपमहानगरपालिका–६, का ३९ वर्षीय कृष्ण श्रीवास्तव, भारतीय नागरिकहरु ५० वर्षीय सुखाडी सहनी, २० वर्षिय सरोजकुमार सहनी, ५५ वर्षीय मो.रयाजुल र ३५ वर्षीय संजित पदार्थ रहेका छन् ।

सर्लाही प्रहरीले मंगलबार सदरमुकाम मलंगवामा पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्तिहरुको साथबाट चोरी गरिएको विद्युत ट्रान्सफर्मरको तार १०३.८ केजी, चोरीमा प्रयोग गरिएको औजार ५१ थान र चोरीमा प्रयोग गरिएको दुई थान ई–रिक्सासमेत बरामद गरेको जानकारी गराएको छ ।

जिल्लामा विद्युतका ट्रान्सफर्मर चोरी भएपछि प्रहरीको विशेष टोली ‘अप्रेसन चार्ली’ बनाएर चोरीमा संलग्न व्यक्तिहरुलाई महोत्तरी, बारा, पर्सालगायत ठाउँबाट पक्राउ गरिएको पत्रकार सम्मेलनमा सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्काले बतए ।

प्रहरीका अनुसार परेकामध्ये सिन्धुपाल्चोकका सोनाम लामाविरुद्ध चोरी तथा डाँका सम्वन्धी कसूरमा विभिन्न जिल्लामा चारवटा मुद्दा चलेको र महोत्तरीका बुधे माझीविरुद्ध कर्तव्य ज्यान एक, डाँका एक र अभद्र व्यवहारमा दुईवटा मुद्दा चलेको पाइएको छ ।

भारतीय नागरिक सुखाडी सहनीले इलामका दुर्गा अधिकारी, सिन्धुपाल्चोकका सोनाम र महोत्तरीका बुधेसँग मिलेर एकान्त ठाउँमा रहेका ट्रान्सफर्मरहरुबारे सूचना सङ्कलन गर्ने गरेको पाइएको छ ।

त्यसपछि भारतीय नागरिकसँग समेत मिलेर ट्रान्सफर्मरका तार वीरगञ्जमा रहेका कवाड पसलमा लगेर बिक्री गर्ने गरेको पाइएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले पत्रकारसँग बताए ।

यस्तै पक्राउ परेकामध्ये बाराको जितपुर सिमरा उपमहानगरपालिका–६, का ३९ वर्षीय कृष्ण श्रीवास्तवको आफ्नै गढिमाई मेटल प्रा.लि. रहेको र त्यहाँ चोरी गरिएको ट्रान्सफर्मरको तामा पगालेर भाडाहरु बनाइ बेच्ने गरेकोसमेत पाइएको छ ।

प्रहरीसँग विद्युत प्राधिकरणले बताए अनुसार ५० के.भी. को ट्रान्सफर्मर चोरी हुँदा चार लाख ५० हजार र १०० के.भी. ट्रान्सफर्मर चोरी हुँदा छ लाख ५० हजार रुपियाँ बराबरको क्षति हुन्छ । सर्लाहीबाट चोरी भएका अधिकांश कृषि प्रयोजनका ट्रान्सफर्मर १०० के.भी. का रहेका छन् ।

सर्लाहीमा १७ वटा ट्रान्सफर्मर चोरी हुँदा करिव एक करोड १० लाख ५० हजार बराबरको क्षति भएको सहजै अनुमान गर्न सकिन्छ ।

रातिराति सिँचाईमा प्रयोग भएको ट्रान्सफर्मर चोरी भएपछि सर्लाहीका किसानलाई सिँचाईका लागि समस्या पर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *