सर्लाही, १४ साउन। सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिका-६ कामद टोलमा आज करिब साँझ साढे ४ बजे एक पुरानो दुईतले पक्की घर भत्किँदा एक बालकको मृत्यु भएको छ। प्रहरीका अनुसार नविन सिंहको पुरानो घर अचानक भत्किँदा आँगनमा खेलिरहेका गौतम माझीका अन्दाजी ६ वर्षीय छोरा अरुण माझी किचिँदा घटनास्थलमै निधन भएको हो।घटनास्थलमा अन्य व्यक्तिहरु पनि किचिएका हुन सक्ने आशंका गरिएको छ।

घटनापछि प्रहरी चौकी नाढिमनबाट तत्काल चार जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ भने ईलाका प्रहरी कार्यालय केशरगंजका प्रहरी निरीक्षक उमाकान्त जोशीको कमाण्डमा JCB सहितको टोलीले संरचना हटाउने र उद्धार कार्य जारी राखेको जनाएको छ।प्रहरीका अनुसार घटनास्थल प्रहरी चौकी नाढिमनबाट करिब ४ किलोमिटर दक्षिणतर्फ पर्छ। थप क्षति र घाइतेबारे विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।