सर्लाही, ०९ मंसिर । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले होटेल, रेस्टुरेन्टलाई बोतलमा उल्लेख भएभन्दा बढी मूल्यमा पानी बिक्री नगर्न सूचना जारी गरेको छ ।
होटेल, रेस्टुरेन्टले अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी)भन्दा बढीमा बोतलबन्द पानी बिक्री गर्ने विकृति बढेको विषयमा उपभोक्ताले विभागमा उजुरी गरेका छन् ।
उक्त उजुरीपछि विभागले सोमबार एक सूचना जारी गर्दै एमआरपीभन्दा बढी मूल्यमा पानी बिक्री नगर्न निर्देशन दिएको हो ।
निर्देशनविपरीत बढी मूल्यमा पानी बिक्री गरेको सप्रमाण उजुरी आए उपभोक्ता संरक्षण ऐन, ०७५ अनुसार कारबाही गर्ने जानकारी पनि गराएको छ ।
