सर्लाही, ०९ मंसिर । इथियोपियामा हेली गुब्बी ज्वालामुखी विस्फोटनबाट निस्केको खरानीको विशाल बादल भारतसम्म आइपुगेको छ । बादलले दिल्ली, राजस्थान र उत्तर भारतको ठुलो भागलाई असर गरेको छ । राजधानी दिल्लीका धेरै क्षेत्रहरूमा एक्यूआई ४०० नाघेको छ ।

यी क्षेत्रलाई विषाक्त धुवाँले ढाकेको छ । आनन्द विहार, एम्स र सफदरजंग वरपरको भिजिबिलिटी कम भएको छ । ज्वालामुखीको खरानीको कारण, अकासा एयर, इन्डिगो र धेरै अन्तर्राष्ट्रिय उडानहरू डाइभर्ट गरिएका छन् । ११ वटा उडान रद्द गरिएका छन् । रद्द  गरिएका सबै उडान एयर इन्डियाका हुन् । 

नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए)ले एयरलाइन्सहरूलाई चेतावनी जारी गर्दै खरानी भएका क्षेत्रहरू र उच्च उचाइबाट बच्न, बाटो परिवर्तन गर्न र इन्जिनहरूको निरीक्षण गर्न आग्रह गरेको छ ।

सतहमा हावाको गुणस्तरमा उल्लेखनीय असर नपर्ने तर उच्च–उचाइका उडानहरू जोखिममा रहने चेतावनी वैज्ञानिकहरूले दिएका छन् । ज्वालामुखीको खरानी साँझ ७ः३० बजेसम्ममा भारतीय आकाशबाट पूरै हट्ने भनिएको छ । आईएमडीका अनुसार यी बादलहरू चीनतिर सरिरहेका छन् । 

इथियोपियाको हेली गुब्बी ज्वालामुखी लगभग दश हजार वर्षपछि पहिलो पटक विस्फोट भएको हो । विस्फोटले आकाशमा १० देखि १५ किलोमिटर माथिसम्म खरानीको विशाल मुस्लो पठाएको छ । वैज्ञानिकहरूले यसलाई दुर्लभ प्राकृतिक घटना भएको छन् । यसले वरपरका क्षेत्रहरूको मौसम र हावाको गुणस्तरमा असर पार्न सक्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *