सर्लाही, १५ साउन । शिक्षकको आवधिक बढुवामा नयाँ प्रस्ताव गरिएको छ ।

गत २२ असारमा प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शिक्षकको आवधिक बढुवामा सहमति नभएपछि विधेयक पास हुन सकेको थिएन । समिति स्रोतका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकको कार्यसम्पादन मूल्याङ्नको अंकलाई विभाजन गरेर ल्याएको छ । आवधिक बढुवाको अंकलाई विभाजन गरेर अगाडि बढ्ने प्रस्ताव आएको छ । 

उपसमितिले शिक्षकको आवधिक बढुवा हुन तृतीय श्रेणीको १० वर्ष र दोस्रो तहको १२ वर्षमा हुने प्रावधान प्रस्ताव गरेको छ ।

यसको लागि शिक्षकले पाँच वर्षमा कार्यसम्पादन मुल्यांकनमा ९० अंक ल्याउनुपर्ने भनिएको छ । यो ९० अंक नराखेर तोकिए बमोजिम राख्न शिक्षक महासंघले दबाब दिएको छ  । गत २२ असारमा यही विषयमा सहमति नहुँदा बैठक स्थगित भएको थियो ।

सरकारलाई समितिले ५ दिनको समय दिएको थियो । तर समय घर्किए पनि बैठक बस्न सकेको छैन । तोकिए बमोजिम राख्न शिक्षा मन्त्रालय र शिक्षा समिति तयार छैन । तर शिक्षक महासंघले सरकारले ल्याएको भनेको नयाँ प्रस्तावबारे आफूहरूसँग छलफल नभएको बताएको छ ।

मन्त्रालयले ल्याएको नयाँ प्रस्तावमा समितिमा छलफल हुनेछ । मन्त्रालयले पनि बैठक राख्न समितिलाई भनेको छ । समितिको बैठक बस्नुअघि बिहीबार (भोलि) परामर्श समन्वय उपसमितिको बैठक बोलाइएको छ ।

मन्त्रालयले ल्याएको नयाँ प्रस्तावमा परामर्शको बैठकमा छलफल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *