सर्लाही, १० मंसिर । कैलालीको धनगढीमा नेकपा (एमाले) पोलिटब्युरो सदस्य महेश बस्नेतको उपस्थितिमा आयोजित राष्ट्रिय युवा संघ नेपालको सुदूरपश्चिम प्रदेशस्तरीय युवा जागरण सभालाई लिएर एमालेनिकट युवा संघ र जेनजी समूहबिच बुधवार झडप भएको छ ।
झडपका क्रममा जेनजी समूहकी अगुवा सरिता जोशी घाइते भएकी छन् । उनको हात भाँचिएको र धनगढीको निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।
जागरण सभामा सहभागी हुन मोटरसाइकल र्यालीसहित धनगढी आएका युवा सङ्घका कार्यकर्ता र बस्नेतको विरोधमा सडकमा उभिएका जेनजी समूहका युवाहरूबिच तनाव उत्पन्न भएको थियो ।
जेनजी युवाहरूले “गुण्डाको गुण्डा गो ब्याक”, “जेनजीको रगतमाथि खेलबाड गर्न पाइँदैन” जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका थिए ।
प्रत्यक्षदर्शी र जेनजी समूहका अनुसार युवा सङ्घका केही कार्यकर्ताले प्रदर्शनकारीमाथि हातपातको प्रयास गरेका थिए । त्यही क्रममा सरिता जोशीमाथि आक्रमण भएको र भाग्दा उनको हात भाँचिएको बताइएको छ ।
यता, एमाले नेता महेश बस्नेतले भने सडक अवरुद्ध गर्न खोज्ने केही व्यक्तिलाई युवा सङ्घका कार्यकर्ताले प्रतिरोध गरेर सडक खाली गराएको र कुनै अप्रिय घटना नभएको दाबी गरेका छन् ।
उनले प्रहरी प्रशासनको भूमिकाको प्रशंसा गर्दै भनेका छन्, “प्रहरीले देखाएको उच्च सतर्कता र जिम्मेवार भूमिकाले कुनै अप्रिय घटना हुन दिएको छैन ।”
टनालाई मध्यनजर गर्दै ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको थियो । प्रहरीको घेराभित्र रहेका प्रदर्शनकारीमाथि आक्रमण प्रयास भएपछि जेनजी युवाहरू तितरबितर भएका थिए ।
यसअघि पनि सुर्खेत र विराटनगरमा महेश बस्नेतको कार्यक्रममा जेनजी समूहले विरोध प्रदर्शन गरेका थिए ।
गत भदौ २३–२४ मा भएको जेनजी आन्दोलनका क्रममा भएको हिंसा र त्यसलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले गरिरहेको नकारात्मक टिप्पणीका कारण जेनजी समूह आक्रोशित छ ।
त्यही आक्रोशका कारण बस्नेत जहाँ–जहाँ जान्छन्, त्यहाँ विरोध हुँदै आएको छ । हाल स्थिति सामान्य बनेको र कार्यक्रम सकिएको प्रहरीले जनाएको छ ।
