सर्लाही, ११ मंसिर ।  जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेस प्रदेश अध्यक्ष अशोककुमार यादवले बुधवार पार्टीको प्रदेश अध्यक्षसहित साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् ।

उनले अबको आफ्नो राजनीतिक यात्रा नेकपा (प्रचण्ड–माधव समूह) बाट अगाडि बढाउने घोषणा गरेका छन् ।

आज पार्टी अध्यक्षलाई सम्बोधन गर्दै उनले प्रदेश अध्यक्षको जिम्मेवारीसँगै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जानकारी गराएका हुन् ।

देशको अहिलेको राजनीतिक अवस्थामा देश र मधेसको विकास तथा अधिकारको रक्षा मधेस केन्द्रित दलहरूबाट सम्भव नहुने उनको निचोड छ ।

सामाजिक सञ्जाल मार्फत राजीनामा घोषणा गर्दै यादवले लेखेका छन्, “मधेसी जनअधिकार फोरमबाट राजनीति सुरु गरी जनता समाजवादी पार्टीसम्म आइपुग्दा सधैँ अन्याय, अत्याचार र विभेदविरुद्ध आवाज उठाउँदा जेल, थुना र मुद्दा भोगेँ ।

देशको वर्तमान राजनीतिक अवस्थामा मधेसको विकास र अधिकार मधेस केन्द्रित दलहरूबाट सम्भव नदेखेर आजैदेखि पार्टीको सबै जिम्मेवारी र साधारण सदस्यताबाट राजीनामा गर्दछु ।”

यात्रा डेलीसँग टेलिफोनमा कुरा गर्दै यादवले मधेस केन्द्रित दलहरूले जनतालाई ठगेको, सत्ताको लोभमा बारम्बार सम्झौता गरेको र मधेसको मुद्दा बिर्सिएको आरोप लगाए ।

“अब प्रचण्ड नेतृत्वको नेकपाबाट मधेसी, थारु, मुस्लिमलगायत उत्पीडित समुदायको अधिकारका लागि सङ्घर्ष गर्नेछु,” उनले भने । यादवले आफू नेतृत्वको सम्पूर्ण टोली केही दिनभित्रै नेकपामा प्रवेश गर्ने पनि बताए ।

यादव केही महिना अघि सर्लाहीका तत्कालीन एसपी योगेन्द्रसिंह खड्कासँग फोनमा चर्काचर्की गर्दै गालीगलौज गरेको अडियो सार्वजनिक भएपछि चर्चामा आएका थिए । प्रकरणमा उनी पक्राउ समेत परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *