सर्लाही, १४ मंसिर । युक्रेनको नौसेना ड्रोनले कालो सागरमा यात्रा गरिरहेका रुसको स्याडो फ्लिटसँग सम्बन्धित दुई तेल ट्यांकरमा आक्रमण गरेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।
प्रमाणित भिडिओमा पानीमुनि ड्रोन छालहरूलाई चिर्दै जहाजतिर गएको र त्यसमा ठोकिँदै विस्फोट भएको देखिएको बीबीसीले जनाएको छ ।
टर्कीका अधिकारीहरूका अनुसार, निसाना बनाइएका ट्यांकर नाम काइरोस र विराट नामका हुन् । दुवैले गाम्बियाको झण्डा फहराएका छन् । दुवै ट्यांकरमा शुक्रबार टर्कीको तटमा आक्रमण गरिएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबार विराटलाई फेरि निसाना बनाइएको थियो। यद्यपि यस आक्रमणमा कुनै हताहत भएको छैन ।
यो आक्रमणले युक्रेनले अब रुसको तेल राजस्वलाई कमजोर पार्ने प्रयास गरिरहेको देखिन्छ, जुन युक्रेनमा चलिरहेको युद्धलाई निरन्तरता दिन महत्त्वपूर्ण मानिन्छ ।
रिपोर्टहरूका अनुसार, यी दुई जहाज रुसको स्याडो फ्लिटका हिस्सा हुन् । जसको प्रयोग रुसले पश्चिमी प्रतिबन्ध छल्न प्रयोग गर्ने सयौँ ट्यांकरलाई जनाउँछ ।
