काठमाडौँ, १५ मंसिर । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध बंगलादेशमा अर्को फाइल पनि खोलिएको छ ।
मृत्युदण्ड र २१ वर्षको जेल सजायपछि अब अर्को फाइल खुलाइएको हो । बंगलादेशमा आजभन्दा १६ वर्षअघि हिंस्रक विद्रोह भएको थियो, जसमा दर्जनौँ वरिष्ठ सैन्य अधिकारीहरूको हत्या भएको थियो ।
यी सामूहिक हत्याहरूको अनुसन्धानका लागि गठित आयोगले आइतबार पूर्व प्रधानमन्त्री शेख हसिनाले नै यी हत्याहरूको आदेश दिएको दाबी गरेको छ ।
बंगलादेश राइफल्स (बीडीआर) का उग्र सैनिकहरूले ढाकाबाट सुरु भई सन् २००९ मा देशभर फैलिएको दुई दिने विद्रोहको क्रममा सैन्य अधिकारीहरू सहित ७४ जनाको हत्या गरेका थिए ।
यी हत्याहरूका कारण तत्कालीन प्रधानमन्त्री हसिनाको सरकारको ठूलो आलोचना भएको थियो । उनले पद सम्हालेको केही हप्ता मात्र भएको थियो ।
गत वर्ष अर्थात् २०२४ मा विद्यार्थीहरूको नेतृत्वमा भएको विद्रोहपछि शेख हसिनालाई पदमुक्त गरिएको थियो। शेख हसिना भारतमा बसिरहेकी छन् । मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले सन् २००९ को घटनाको अनुसन्धान गर्न एउटा आयोग गठन गरेको थियो ।
७८ वर्षीया हसिनाले त्यसबेलादेखि बंगलादेश फर्कने अदालतको आदेश नमान्दै भारतमा शरण लिइरहेकी छन् । बंगलादेश सरकारले भारत सरकारलाई हसिनालाई बुझाउन पत्राचार गरिरहेको छ ।
