सर्लाही, १५ मंसिर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणी नदीमा नयाँ पुल निर्माण सुरु भएको छ । गत कात्तिक १४ गते यो पुलको डिजाइन स्वीकृत भएको थियो ।
डिजाइन स्वीकृत भएलगत्तै अहिले काम सुरु भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । सडक डिभिजन भरतपुरका इन्जिनियर अर्जुन घिमिरेका अनुसार अहिले नदी किनारमा माटो फिलिङको काम भइरहेको छ ।
‘पाइल बोरिङ गर्नका लागि मेसिन राख्न प्लेटफर्म बनाउने काम भइरहेको छ,’ घिमिरेले भने, ‘डिजाइन स्वीकृत भएपछि फिल्डमा काम सुरु भएको करिब दुई हप्ता भएको छ ।’
निर्माण व्यवसायीले पुल निर्माणका लागि आवश्यक उपकरण (पाइल बोरिङ मेसिन) अघिल्लो वर्ष नै निर्माण स्थलमा ल्याइसकेका थिए । तर, पुलको डिजाइन पास नहुँदा लामो समयसम्म काम अघि बढ्न सकेको थिएन ।
इन्जिनियर घिमिरेका अनुसार गत कात्तिक १४ गते डिजाइन स्वीकृत भएको थियो भने कात्तिक १८ गते निर्माण व्यवसायीलाई काम अघि बढाउन निर्देशन दिइएको थियो । सम्झौताअनुसार यो पुलको निर्माण कार्य २०८४ साल जेठ १९ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने हुन्छ ।
निर्माण सम्झौता भएको मितिले ४ वर्षको अवधि तोकिए पनि अब करिब डेढ वर्ष मात्र समय बाँकी छ । इन्जिनियर घिमिरेले बाँकी रहेको समयमा पुल निर्माण सम्पन्न नहुने प्रस्ट पारेका छन् । उनले भने– ‘अब म्याद थप गर्नुपर्ने नै हुन्छ । त्यसको लागि फाइल बनाएर विभागमा पठाउनुपर्छ, तर प्रक्रिया सुरु भइसकेको छैन ।’
हाल निर्माण स्थलमा तीव्र गतिमा माटो भर्ने काम भइरहेको र छिट्टै पाइल बोरिङको काम सुरु हुने सडक डिभिजनले जनाएको छ । २०८० जेठ १९ गते तुँदी कन्स्ट्रक्सन प्रालिसँग १ अर्ब ६८ करोड ७६ लाख २३ हजार ३५४ रुपैयाँ (मूल्य अभिवृद्धि करसहित) मा पुल निर्माणका लागि सम्झौता भएको थियो ।
सम्झौताअनुसार पहिलो वर्ष डिजाइन गर्ने र बाँकी तीन वर्षमा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । तर पुलककाे डिजाइनमै करिब साढे दुई वर्ष लागेको थियो ।
