सर्लाही, १७ मंसिर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश राजनीतिक, आर्थिक र सामाजिक चुनौतीको अवस्थामा रहेको बताएका छन् ।
३४ औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।
‘देश अहिले राजनीतिक, आर्थिक र सामाजिक चुनौतीको अवस्थामा छ । यस परिस्थितिमा अपांग नागरिकको अधिकार, अवसर र सम्मानलाई राष्ट्र निर्माणको केन्द्रमा राख्नु हाम्रो साझा जिम्मेवारी हो’ उनी लेख्छन्, ।
समावेशी विकास, पहुँचयोग्य पूर्वाधार, उपचार, शिक्षा–रोजगारमा समान अवसर र सम्मानजनक जीवनका आधारहरूमा टेकेर नै हामी सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माण गर्न सक्छौँ ।’
आन्दोलनहरूमा विशिष्ट योगदान दिँदै अपांगता भए पनि राष्ट्र, समाज र न्यायका पक्षमा उभिएकाको साहस, दृढता र समर्पणले निरन्तर अघि बढ्न प्रेरणा दिएको उनले बताएका छन् ।
उनी लेख्छन्, ‘हाम्रो राजनीतिक यात्राका कठिन मोडहरू जनयुद्धलगायत परिवर्तनका विभिन्न निर्णायक आन्दोलनहरूमा विशिष्ट योगदान दिँदै अपांग बनेर पनि राष्ट्र, समाज र न्यायका पक्षमा उभिनुभएका हजारौँ साथीहरूको योगदान अमूल्य छ । उहाँहरूको साहस, दृढता र समर्पणले हामीलाई निरन्तर अघि बढ्न प्रेरणा दिएको छ ।’
