सर्लाही, १८ मंसिर । सर्लाही जिल्लाको कबिलासी नगरपालिकामा बुधबार ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ ।

नगरपालिकाकी उप–मेयर पुनम कर्णको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १२ वटै वडाका अपाङ्गता भएका व्यक्ति तथा अपाङ्गता परिचयपत्र धारण गरेका सहभागीहरूको उपस्थिति रह्यो । कार्यक्रमको आयोजना महिला तथा बालबालिका शाखाले गरेको हो ।

महिला तथा बालबालिका शाखाकी शाखा अधिकृत ममता यादवका अनुसार कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, जनप्रतिनिधि तथा विभिन्न सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपालमा अपाङ्गता भएका व्यक्तिहरूले भोग्दै आएका समस्या, अधिकार, चुनौती तथा समाधानका उपायबारे विस्तृतरूपमा छलफल गरिएको थियो । सहभागी अपाङ्गता भएका व्यक्तिहरूले राज्यले उपलब्ध गराउनुपर्ने सुविधा अझै पर्याप्त नपाएको गुनासो समेत व्यक्त गरे ।

अपाङ्ग समुदायका तर्फबाट बोलेका कबिलासी–८ का अन्ज साहले लोकतन्त्र र गणतन्त्रको स्थापनामा अपाङ्गता भएका नागरिकले पनि महत्वपूर्ण योगदान दिएको भए पनि सरकारले उनीहरूको सुविधा र हकहिततर्फ पर्याप्त ध्यान नदिएको आरोप लगाए ।

सोही कार्यक्रममा कार्यपालिका सदस्य तथा नेपाली काँग्रेसका नेता विनय कर्णले उठेका प्रश्नहरूको जवाफ दिँदै सरकार अपाङ्गता भएका व्यक्तिका पीडा बुझेर नै परिचयपत्र वितरण, मासिक भत्ता र आवश्यक कानुन निर्माण गर्दै आएको बताए ।

उनले प्रत्येक पालिकामा अपाङ्गता भत्तामा करोडौँ रुपैयाँ खर्च भइरहेको उल्लेख गर्दै अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मबल बलियो बनाएर समाज र राष्ट्र निर्माणमा सक्रिय भूमिका निभाउन प्रेरणा दिए ।

उप–मेयर पुनम कर्णले राज्यले अपाङ्गता भएका व्यक्तिहरूका लागि उपलब्ध गराउँदै आएको सेवासुविधा निरन्तर जारी रहेको बताइन् । उनले चालु वर्षको बजेटमा पालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि ९ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिँदै प्राथमिकताका आधारमा आवश्यक सामग्री पालैपालो वितरण गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् ।

३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा आयोजित यस कार्यक्रमले अपाङ्गता भएका नागरिकको हकहित, पहिचान र समृद्धिमूलक सहभागितामा स्थानीय तहको प्रतिबद्धता झल्काएको सहभागीहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *