सर्लाही, २२ मंसिर । जेन–जी आन्दोलनको मानवीय तथा भौतिक क्षतिको छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले अब उच्चपदस्थको बयान लिने तयारी गरेको छ ।

फिल्डमा खटिएका तथा अन्य केही उच्चपदस्थ कर्मचारीको बयान लिइसकेको आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी ओलीसम्मलाई बयानको दायरामा ल्याउने तयारी गरेको हो ।

आयोगले आन्दोलनका वेला काठमाडौंका प्रमुख जिल्ला अधिकारी रहेका सहसचिव छवि रिजाल तथा काठमाडौंका प्रहरी प्रमुख रहेका विश्व अधिकारी (हाल डिआइजी)सँग चार दिनदेखि बयान लिइरहेको छ ।

गत बुधबारदेखि उनीहरूको बयान लिन थालेको हो । आयोगका एक अधिकारीका अनुसार आइतबार पनि बयान लिइएको थियो, तर सकिएको छैन ।

२३ भदौमा जेन–जी आन्दोलनकारीमाथि बल प्रयोगमा मुख्य भूमिका भएकाले उनीहरूको बयान लामो भएको हो । सोमबार उनीहरूको बयान सकेर त्यसपछि तत्कालीन एआइजी र आइजिपीसँग बयान लिने आयोगको तयारी छ ।

आयोगका प्रवक्ता विज्ञानराज शर्माले तीव्र गतिमा काम भइरहेको बताए । ‘बयानको काम तीव्र रूपमा भइरहेको छ,’ उनी भन्छन्, ‘तत्कालीन सरकारमा रहेकालाई पनि छिट्टै बयानमा बोलाउँछौँ ।’ 

आइजिपीपछि तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी हुँदै तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन प्रधानमन्त्री केपी ओलीको बयान लिने तयारी आयोगको छ ।

आयोगको कार्यकाल अब करिब दुई हप्ता मात्र बाँकी रहेकाले बयानलाई तीव्रता दिएको छ । जेन–जी अगुवाले ओली र लेखकलाई पक्राउ नै गरेर बयान लिन दबाब दिँदै आएका छन् ।

जेन–जी अगुवा सुदन गुरुङले उनीहरूलाई कारबाहीको दायरामा नल्याए देशभर विरोध प्रदर्शन गर्ने चेतावनी दिएका छन् । 

भ्रष्टाचारको विरोधमा गत २३ भदौमा जेन–जी युवाहरूले गरेको विरोध प्रदर्शनमा नयाँ बानेश्वर क्षेत्रमा गोली प्रहार गर्दा १७ जनाको ज्यान गएको थियो ।

भोलिपल्ट देशव्यापी आन्दोलन भएपछि तत्कालीन ओली सरकार ढलेर सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार बनेको हो । जेन–जी अगुवाहरूले सो आन्दोलनमा दमन गर्ने कसैलाई कारबाहीको दायरामा नल्याएको भन्दै आक्रोश व्यक्त गर्दै आएका छन् । प्रहरीले आन्दोलनमा आगजनी गर्नेहरूलाई भने पक्राउ गरिरहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *