सर्लाही, २५ मंसिर । सरकारले भारतको गोवाबाट पाँचजना नेपाली नागरिकको शव नेपाल ल्याउने तयारी अघि बढाएको छ ।
भारतको गोवास्थित एक नाइटक्लबमा गएको शनिबार आगलागी हुँदा पाँच नेपालीसहित २५ जनाको मृत्यु भएको थियो ।
आगलागीमा परेर ६ जनाभन्दा बढी घाइते भएका भारतीय सञ्चार माध्यमले जनाएका छन ।
उक्त घटनामा दाङका ३१ वर्षीय चूर्णबहादुर पुन, सिन्धुलीका लीलबहादुर कटुवाल (विवेक), डडेलधुराका मनोज जोरा, झापाका, सबिन विश्वकर्मा र सुदीप गुरुङको मृत्यु थियो ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार उक्त आगलागीमा परेर मृत्यु भएका पाँचै जनाको सनाखत भइसकेको छ ।
दिल्लीस्थित नेपाली दूतावास तथा त्यहाँ कार्यरत अन्य नेपालीको समन्वयमा नेपाली नागरिकहरूको शव नेपाल ल्याउने तयारी सुरु गरिएको हो ।
यसका लागि दूतावासले आवश्यक कागजपत्र बनाउने प्रक्रिया पूरा गरिसकेको क्षेत्रीले बताए ।
गोवा प्रहरीको सहयोगमा चूर्णबहादुरको शव एयर एम्बुलेन्समार्फत लखनउ र त्यहाँबाट शव वाहनमार्फत घरसम्म पुर्याउने व्यवस्था मिलाइएको छ ।
अन्य मृतकको शव नेपाल ल्याउन त्यहाँ कार्यरत नेपालीले आर्थिक संकलन सुरु गरेका छन् ।
