सर्लाही, २७ मैसिर । नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टिम जनकपुर बोल्ट्सले क्रिकेट एकेडेमी सञ्चालन गर्ने भएको छ ।
जनकपुर बोल्ट्सले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै मधेस प्रदेशमा जेबी क्रिकेट एकेडेमी सञ्चालन गर्ने घोषणा गरेको हो ।
मधेसका आठ जिल्ला सर्लाही, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, रौतहट, बारा र पर्साका प्रतिभाशाली खेलाडीलाई लक्षित गरी एकेडेमी सञ्चालन गरिने जनकपुर बोल्ट्सले जनाएको छ ।
एकेडेमीले क्रिकेटमा आफ्नो जिल्ला, प्रदेश, फ्रेन्चाइज तथा नेपालको प्रतिनिधित्व गर्ने आकांक्षा राख्ने युवा तथा बालबालिकाहरूलाई प्रशिक्षण प्रदान गर्नेछ।
मधेसमा बलियो क्रिकेटिङ आधारशिलाको विकास गर्नु र युवा प्रतिभाको खोजी गरेर नेपाली क्रिकेटको भविष्यलाई सहयोग गर्नु एकेडेमीको उद्देश्य रहेको जनकपुर बोल्ट्सले जनाएको छ ।
