सर्लाही, २८ मंसिर । सप्तरीको विकास संग जोडिएको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा थप उद्योगहरुको स्थापना, उद्योगी व्यवसायीहरुको आकर्षण, संरक्षण तथा सम्बद्र्धन गर्न प्रदेश सरकारको तर्फबाट हर सम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।
औद्योगिक क्षेत्र व्यवस्थापन लि.ले आयोजना गरेको आफ्नो ३९ औं बार्षिकोत्सव समारोहलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै मधेश प्रदेशका अर्थ मन्त्री महेश प्रसाद यादवले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
“सप्तरीको विकास, आर्थिक चहलपहलमा वृद्धि तथा रोजगारी संग प्रत्यक्ष जोडिएको यस औद्योगिक क्षेत्रको उचित व्यवस्थापन तथा औद्योगिक क्षेत्रमा उद्योगी व्यवसायीको आकर्षण बढाउन प्रदेश सरकारले साधनस्रोतले भ्याए सम्म सहयोग गर्ने छ,अर्थमन्त्री यादवले भने–यसका लागी मास्टर प्लान बनाएर ल्याउन व्यवस्थापन पक्ष संग आग्रह छ ।”
हाल प्रदेश सरकारले औद्योगिक क्षेत्रको स्तरन्नोतिका लागि आर्थिक बर्ष २०८२/०८३ मा ५० लाख बजेट विनियोजन गरेको जानकारी दिएका उनले संघीय सरकारको विभेदका कारण मधेश प्रदेशको एकमात्र औद्योगिक क्षेत्र छायामा परेको बताए ।
मधेश प्रदेशबाट बैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या उल्लेख्य रहेको तथा सर्वाधिक रेमिटान्सको योगदान दिने गरेपनि संघीय सरकारले बजेटको मामिलामा मधेशलाई उपेक्षा गनु आश्चर्यको बिषय भएको उनको भनाइ छ । यसबारे संघीय सरकारका अर्थ र उद्योग मन्त्रीलाई भेटेर समेत कुरा राखेको उनले सुनाए ।
कार्यक्रममा स्वागत गर्दै औद्योगिक क्षेत्र व्यवस्थापन लि. राजविराजका निमित्त कार्यालय प्रमुख मनिष कुमार मिश्रले पर्याप्त बजेट, उद्योग धन्धा थप्ने वातावरण तथा सुरक्षा लगायतका सुविधाको अभावमा औद्योगिक क्षेत्र व्यवस्थित सञ्चालनमा समस्या भईरहेको भन्दै सबै सरोकारबाला संग सहयोगका लागि आग्रह गरे ।
उनका अनुसार औद्योगिक क्षेत्रभित्र हाल १२ वटा मझौला उद्योग छन् । जस मध्ये दुध डेरी, खाद्यान्न, पोलीमर्स, प्लाष्टिक, पेपर कप र पानी उद्योग गरी ७ वटा मात्र पुर्ण रुपमा सञ्चालनमा छन् ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबंधक पदम ओलीको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साह, रुपनी गाउँपालिका अध्यक्ष दिनेशकुमार यादव, उद्योगी रमेशकुमार यादव, मिलन सिंह, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देव, जसपा नेपाल सप्तरीका उपाध्यक्ष लक्ष्मण यादव, घरेलु तथा साना उद्योग सप्तरीका प्रमुख रेखाकुमारी यादव, जनमत पार्टीका जिल्ला इन्चार्ज रामगमन साह, नेपाली कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य सुर्यनाथ यादव सहितकाले औद्योगिक क्षेत्र भित्र देखिका समस्या र तिनका समाधानबारे आ–आफ्ना धारणा राखेका थिए ।
उक्त औद्योगिक क्षेत्रको २०४४ साल मङ्सिर २७ गते नेपाल र भारत सरकारको सहयोगमा स्थापना गरिएको थियो । २०६२ सालमा यसको नाम परिवर्तन गरि गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र राखिएको हो । यसको कूल क्षेत्रफल २२ विगहा १ कठ्ठा रहेको छ ।
