सर्लाही, २९ मंसिर । सर्लाही सदरमुकाम मलंगवामा लामो समयदेखि अलपत्र रहेको पूर्वपश्चिम हुलाकी सडकमा बल्ल कालोपत्रेको काम अघि बढेको छ । 

मलंगवाको मुख्य बजार क्षेत्रमै वर्षौंदेखि सडक निर्माणको काम अलपत्र रहँदा स्थानीय धुलोको मार खेप्न बाध्य रहेका थिए । स्थानीयले गएको कात्तिक मध्यतिर सडक कालोपत्रेको माग गर्दै अनिश्चितकालीन चक्काजाम सुरु गरेपछि निर्माण व्यवसायीले काम अघि बढाएका थिए । 

स्थानीयको आन्दोलनपछि पनि सुस्त गतिमा काम अघि बनाएको निर्माण कम्पनीले शनिबारदेखि कालोपत्रेको प्रारम्भिक कार्यअन्तर्गत प्राइम हाल्ने काम सुरु गरेको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुरका सूचना अधिकारी एवं इन्जिनियर रन्जितकुमार रायले जानकारी दिनुभयो । रायका अनुसार दुई, तीन दिनभित्रै प्राइम हाल्ने काम सकिने छ । 

प्राइम सुक्न दुई, तीन दिन लाग्ने र त्यस लगत्तै अन्तिम चरणको कालोपत्रे हाल्न सुरु गरिने छ । पूर्वपश्चिम हुलाकी राजमार्ग अन्तर्गत सर्लाहीका अन्य भागमा यसअघि कालोपत्रे भए पनि मलंगवा बजारको मुख्य भागमा सात सय किलोमिटर सडक अधुरो रहेको छ । 

मलंगवाको टावर चोकदेखि झन्डा बजारसम्मको सडक बर्सौंदेखि अलपत्र रहँदा स्थानीय र यात्रु धुलोबाट हैरान बनिरहेका छन् । इन्जिनियर रायले प्राइम हाल्ने काम पूरा हुनासाथ धुलोको समस्या अन्त्य हुने बताउनु भयो । 

निर्माण व्यवसायीले पुस १५ सम्ममा कालोपत्रेको काम नै सम्पन्न गर्ने प्रतिबद्धता जनाएका इन्जिनियर रायको भनाइ छ । मलंगवा बजार क्षेत्रको सडक कालोपत्रे गर्न हिमडुङ एन्ड ठोकर, हीरा एन्ड नमिता जेभीले ठेक्का पाएको छ ।  

सडक कालोपत्रेका लागि सडक विभागले निर्माण व्यवसायीलाई सात पटक म्याद प्रदान गरिसकेको छ । आफूहरूले यो पटक एकै दिन मात्र काम रोक्दा पनि चक्काजाम गरिहाल्ने चेतावनी दिएपछि ठेकेदारले बाध्य भएर एक महिनादेखि खुरु खुरु काम गरिरहेको स्थानीय रन्जन सिंहले बताउनुभयो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *