सर्लाही, ०२ पुष । सर्लाही जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाको अध्यक्षतामा सुरक्षा निकायका प्रमुख, मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, बस व्यवसायी तथा म्याजिक तथा टेम्पु व्यवसायीहरूको उपस्थितिमा बैठक सम्पन्न भएको छ ।
बैठकमा बस व्यवसायी र म्याजिक व्यवसायीबीच देखिएका समस्या तथा सञ्चालन व्यवस्थापनका विषयमा विस्तृत छलफल गर्दै नयाँ बसपार्कबाटै दुवै प्रकारका सवारी साधन सञ्चालन गर्ने निर्णय गरिएको हो । छलफलपछि दुवै पक्षले केही शर्तसहित सहमति जनाएका छन् ।
सहमति अनुसार म्याजिक सवारी साधन १५–१५ मिनेटको अन्तरालमा छुट्ने छन् भने बसहरू आफ्नो नियमित समयतालिका अनुसार सञ्चालन हुनेछन् ।
राजश्री चौकदेखि दक्षिणतर्फ दुवै प्रकारका सवारी साधन सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ, रिजर्भ सवारी साधन बाहेक निर्णय गरिएको हो ।। साथै प्रत्येक चौकमा पाँच मिनेटभन्दा बढी सवारी साधन रोक्न नपाइने, क्षमताभन्दा बढी यात्रु बोक्न नपाइने निर्णय गरिएको छ ।
जिल्ला ट्राफिक कार्यालयको समन्वयमा समय कार्ड प्रणाली लागू गरिने र नवलपुरमा यसअघि बस तथा म्याजिक व्यवसायीबीच भएको निर्णयसमेत पालना गरिने सहमति भएको छ ।
सहमतिका कार्यान्वयनमा कुनै जटिलता उत्पन्न भएमा दुवै व्यवसायी वा प्रशासनको मध्यस्थतामा पुनः बैठक बसी समस्या समाधान गर्ने व्यवस्था पनि गरिएको छ ।
बैठकले माथि उल्लेखित सबै निर्णयहरू दुवै पक्षले इमान्दारीपूर्वक पालना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
