सर्लाही, ०५ पुष । धरौटी बुझाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थुनामुक्त भएसँगै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमानसँग सहकार्यको प्रयास पुनः अघि बढ्ने भएको छ ।
पार्टीको सभापतिको जिम्मेवारीमा फर्किएपछि लामिछानेले कुलमान घिसिङको अगुवाइमा रहेको उज्यालो नेपाल पार्टी तथा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग संवादलाई पुनः सक्रिय बनाउने नेताहरूले बताएका छन् ।
लामिछाने थुनामा रहँदा पद बाँडफाँटमा सहमति नजुट्दा दुई पक्षबीचको एकता प्रक्रिया रोकिएको थियो । तर अब संवाद नयाँ शिराबाट सुरु हुने र सहकार्य वा चुनावी तालमेलको सम्भावना रहेको रास्वपाका सचिवालय सदस्य विराजभक्त श्रेष्ठले बताए । उनका अनुसार लामिछाने बाहिर आएपछि कुलमान घिसिङ र बालेन्द्र शाहसँग प्रत्यक्ष भेटघाट सहज भएको छ।
शुक्रबार थुनामुक्त भएर चितवन पुगेका लामिछाने आइतबार काठमाडौँ आउने र त्यसपछि राजनीतिक भेटघाटलाई तीव्रता दिने तयारीमा छन् ।
उता उज्यालो नेपाल पार्टीका नेताहरूले पनि रास्वपासँगको छलफल निर्णायक मोडमा पुग्न सक्ने संकेत गरेका छन् ।
