सर्लाही, ०८ पुष । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले महाधिवेशन नगरी चुनावमा गए कांग्रेसको सर्मनाक हार हुने बताएका छन् । आज काठमाडौंमा पत्रकारसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

संसद पुनर्स्थापनाको बाटो रोजेर पार्टी महाधिवेशन ढिलो गरे प्रत्युत्पादक हुने उनको भनाइ छ । ‘अधिवेशन नगरी निर्वाचनमा जाँदा कांग्रेसले सर्मनाक हार हुने स्थिति व्यहोर्छ’, पौडेलले भने, ‘अधिवेशन गरेर निर्वाचनमा बढी सिट जितिन्छ भने रणनीतिक हिसाबले पनि अधिवेशन गर्नुपर्‍यो नि ।’

उनले नेकपा एमालेले समेत महाधिवेशन गरिसकेको सन्दर्भमा अब कांग्रेसले नगरे लाज हुने पनि पौडेलले बताए । ‘एउटा कम्युनिष्ट पार्टीले अधिवेशन गरिसक्यो, उसले सकारात्मक म्यासेज दियो । त्यसैले हामीले पनि महाधिवेशन गरौं’, पौडेलले भने ।

उनले महाधिवेशनमार्फत पार्टीलाई अध्यावधिक गर्न नसके देशलाई अगाडि बढाउन सक्छौं भन्ने कुरामा विश्वास नहुने पनि बताए ।

‘हामीले आफ्नो पार्टीलाई अपडेट गर्न सक्दैनौं, विधानले जे व्याख्या व्यवस्था गरेको हो त्यस अनुसार अगाडि लैजान सक्दैनौं भने देशलाई लान्छौं भनेर कसरी पत्याइन्छ ?’ पौडेलले प्रश्न गरे ।

अधिवेशन नगरे, लोभका कारण पद ओगटेर बसेको र परिवर्तन नचाहेको देखिने उनले टिप्पणी गरे । पौडेलले भने, ‘पार्टी निर्वाचनको मुखमा छ, पार्टीमा चलायमान पनि आउँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *