सर्लाही, ११ पुष । सर्लाही सदरमुकाम मलंगवा नगरपालिका–२ स्थित शिक्षा कार्यालय नजिक रहेको सानो पुलको भ्वाङ परेको भाग हिजो साँझ स्थानीयको पहलमा मर्मत गरिएको छ ।

लामो समयदेखि पुल जीर्ण बन्दै गएपछि दैनिकजसो सवारी साधन दुर्घटनामा पर्ने अवस्था बनेको थियो ।

सम्बन्धित निकायले चासो नदेखाएपछि स्थानीय युवा तथा मलंगवा नगर संरक्षण तथा सुधार समितिले आफ्नै खर्च र श्रमदानमा हिजो साँझ पुल मर्मत गरेका हुन् । साँझपखै भ्वाङ परेको भाग ढलान गरि सम्याइएपछि सवारी आवागमन केही सहज बनेको छ ।

स्थानीयका अनुसार पुल बिग्रिएकै कारण मोटरसाइकल र टेम्पोजस्ता सवारी बारम्बार फस्ने र लड्ने गरेका थिए। रातिको समयमा त झन् दुर्घटनाको जोखिम बढी हुने गरेको थियो ।

वडा अध्यक्ष धिरेन्द्र साहले लामो समयदेखि पुल मर्मत नहुँदा समस्या बढ्दै गएको बताए । “दैनिक दुर्घटनाको अवस्था आएपछि स्थानीय युवाले आफैं पहल गरेर हिजो साँझ मर्मत गरिदिएका हुन्,” उनले भने ।

स्थानीयबासीले यो अस्थायी मर्मत भए पनि स्थायी समाधानका लागि सम्बन्धित निकायले छिट्टै ध्यान दिनुपर्ने माग दोहोर्‍याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *