सर्लाही, १४ पुष । जनता समाजवादी पार्टी नेपालले संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादको पक्षमा आवाज बुलन्द गर्दै जनकपुरधाममा विशाल जनप्रदर्शन तथा विरोध सभा आयोजना गरेको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संरक्षण र सुदृढीकरणका लागि ‎जसपा नेपालको मधेश प्रदेश समिति जनकपुरको आयोजनामा सम्पन्न सभाका प्रमुख अतिथि पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मुलुक अहिले गम्भीर आर्थिक, सामाजिक र नैतिक संकटबाट गुज्रिरहेको बताएका छन् ।

उनले विगत ३५ वर्षदेखि सरकारमा रहेका कांग्रेस र कम्युनिस्ट दलहरूको गलत नीति, उदारीकरण र निजीकरणका कारण देशका करिब १३५ वटा कलकारखाना बन्द भएको, सरकारी विद्यालयको अवस्था कमजोर बनेको, कृषि क्षेत्र तहसनहस भएको र मुलुक ३३ अर्बभन्दा बढी ऋणको बोझमा परेको आरोप लगाए । ‎

अध्यक्ष यादवले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई सरकारले सम्हाल्न नसकेको भन्दै ती सबै क्षेत्र ध्वस्त पार्ने जिम्मेवारी सत्तारुढ दलहरूकै भएको टिप्पणी गरे ।

उनीहरूको शासनकालमा भ्रष्टाचार चरम सीमामा पुगेको उनको भनाइ थियो। संविधान संशोधन, भ्रष्टाचार न्यूनीकरण र शिक्षा सुधारका विषय जसपा नेपालले सुरुदेखि उठाउँदै आए पनि दुईतिहाइको दम्भमा ती मागहरूलाई बेवास्ता गरिएको उनले बताए ।

‎यही निराशाका कारण ‘जेनजी’ युवाहरू विद्रोहमा उत्रिएको, सिंहदरबारलगायत ऐतिहासिक र सामरिक महत्वका संरचनामा क्षति पुगेको, नेताहरूको घर जलाइएको र सुरक्षाकर्मीको संरक्षणमा भाग्नुपर्ने अवस्था सिर्जना भएको उनले उल्लेख गरे । तर, अहिलेको सरकारले ती आन्दोलनकारी युवाहरूलाई पनि विगतमा मधेशी र मधेशी जनतालाई ठगेको जस्तै जेनजी युवाहरुलाई झुक्याउने प्रयास गरिरहेको आरोप लगाए । ‎

अध्यक्ष यादवले जसपा नेपाल हरेक किसिमले निर्वाचनमा जान तयार रहेको तर हालको सरकार निर्वाचन गराउन असक्षम रहेको दाबी गरे ।

मधेश आठ जिल्ला मात्र नभई २२ जिल्लासम्म फैलिएको भूगोल भएको उल्लेख गर्दै तत्काल संविधान संशोधन गरी प्रदेशहरूको पुनर्संरचना गर्नुपर्नेमा उनले जोड दिए ।

संविधान पुनर्लेखन नभएसम्म जसपा नेपाल संघर्षमै रहने उनको भनाइ थियो।‎उनले संसदीय व्यवस्था असफल भइसकेको दाबी गर्दै प्रत्यक्ष कार्यकारी प्रमुखको निर्वाचन हुने व्यवस्था गर्न संविधान संशोधन अपरिहार्य रहेको बताए ।

हालको निर्वाचन प्रणाली अत्यन्त महँगो भएकाले आम नागरिकले पनि चुनाव लड्न सक्ने गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने उनले माग गरे । ‎

अध्यक्ष यादवले मुलुकको कुल जनसंख्याको करिब ६० प्रतिशत मधेशी भए पनि अहिलेको निर्वाचन क्षेत्र संरचनाले केवल १० प्रतिशत मात्र प्रतिनिधित्व दिएको भन्दै यो ठुलो विभेद भएको बताए ।

महिला, दलित र अल्पसंख्यक समुदाय निर्वाचन लड्न नसक्ने अवस्थामा पुगेकाले उनीहरूका लागि आरक्षित निर्वाचन क्षेत्र व्यवस्था गर्नुपर्नेमा पनि उनले जोड दिए ।‎

विरोध सभामा सहभागीहरूले संघीयता विरोधी गतिविधि, सुशासनको अभाव, सामाजिक न्यायमाथि भइरहेको आक्रमण तथा जनजीविकासँग जोडिएका समस्याको विरोधमा नाराबाजी गर्दै सरकारलाई जनताको मागप्रति गम्भीर बन्न दबाब दिएका थिए ।‎

जनकपुरधाम– तिरहुतिया गाछीमा सुरु भएको कार्यक्रममा मधेशका विभिन्न जिल्लाबाट हजारौँ नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *