सर्लाही, २३ साउन । नेपाल र भारतबीच द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्न थिंक ट्यांक स्तरमा एक महत्वपूर्ण सम्झौता भएको छ । नेपालको इन्टरनेशनल रिलेसन एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) र भारतको इन्टरनेशनल काउन्सिल अफ वल्र्ड अफियर्स (आईसीडब्लुए) बीच बिहीबार दिल्लीमा कूटनीति, संस्कृति, शिक्षा, व्यापार, मिडिया र अन्य क्षेत्रमा दीर्घकालीन सहयोगलाई बढाउन एक महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।

आईसीडब्लुएद्वारा आयोजित कार्यक्रममा आईआरजीडीडीकी अध्यक्ष तथा पूर्वराजदूत डा. शर्मिला पराजुली ढकाल र आईसीडब्लुएकी कार्यवाहक महानिर्देशक तथा अतिरिक्त सचिव राजदूत नूतन कपूर महावारबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार दुई संस्था बीच पारस्परिक समझदारीलाई गहिरो बनाउन र सहयोगी संस्थागत सम्बन्धलाई प्रवर्द्धन गर्न साझा दृष्टिकोणको अवधारणा प्रस्तुत गर्नेछ । यसले अर्थपूर्ण संवाद र साझेदारीलाई सहज बनाउन कूटनीति, सामाजिक विज्ञान, सञ्चार र अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका विभिन्न क्षेत्रहरूमा दुवै देशका महत्वपूर्ण व्यक्तित्वहरूलाई संलग्न गराउने लक्ष्य राखेको छ ।
सम्झौता अनुसार दुवै पक्षले वैकल्पिक रूपमा भारत वा नेपालमा आयोजना हुने पारस्परिक हितका क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा द्विपक्षीय सेमिनार, गोष्ठी र प्यानल छलफल जस्ता संयुक्त कार्यक्रमहरू आयोजना गर्नेछन् । सहयोगको दायरामा प्रकाशनहरूको आदान–प्रदान, संस्थागत वेबसाइटहरू बीच डिजिटल लिङ्कहरू स्थापना गर्ने र सम्बन्धित क्षेत्रका प्रख्यात व्यक्तिहरूको पारस्परिक भ्रमणलाई समर्थन गर्ने कार्य पनि समावेश छ ।
आईआरजीडीडीकी अध्यक्ष डा. ढकालले आईआरजीडीडी र आईसीडब्लुए बीचको सहकार्यले दक्षिण एसियामा अनुसन्धानमा आधारित, सहानुभूतिपूर्ण कूटनीतिक संस्कृतिलाई प्रवर्द्धन गर्न योगदान पुर्याउने बताइन् ।
‘हामी प्रतिक्रियालाई प्रतिबिम्बमा बदलौँ । धारणालाई बुझाइमा बदलौँ । साथ मिलेर कथालाई पुनः लेखौँ,’ डा. ढकालले भने, ‘मलाई विश्वास छ कि आईआरजीडीडीले आईसीडब्लुएसगको साझेदारीमा दक्षिण एसिया र त्यसभन्दा बाहिर अनुसन्धानमा आधारित र अग्रगामी कूटनीतिक संस्कृति निर्माण गर्न सक्रिय रूपमा योगदान गर्नेछ ।’
आईसीडब्लुएकी कार्यवाहक महानिर्देशक र अतिरिक्त सचिव पूर्वराजदूत महावरले आईआरजीडीडी र आईसीडब्लुएले दुई देशहरू बीचको द्विपक्षीय सम्बन्धलाई प्रवर्द्धन गर्न समझदारी पत्रमा हस्ताक्षर गरेको बताइन् । उनले भारत-नेपाल सम्बन्ध परम्परागत कूटनीतिभन्दा बाहिर रहेको र यही तथ्यले हामीलाई दुवै पक्षमा राजनीतिक उतारचढाव सहन सक्षम बनाउने बताइन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी प्रथम नीति अन्तर्गत नेपाल एक अत्यन्त महत्वपूर्ण साझेदार भएको उल्लेख गरिन् ।
सम्झौता कार्यक्रममा महावर, नेपाल र भारत दुवै देशका कूटनीतिज्ञ, विद्वान र प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
